March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बाढी–पहिरो पीडितलाई तत्काल राहत दिन मुख्यमन्त्रीको निर्देशन

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अविरल वर्षाका कारण भएको मानवीय एवं धनजन क्षतिको लगत संकलन गरी राहत उपलब्ध गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

Advertisement

बर्दिया राजापुर र गेरुवा गाउँपालिका लगायत प्रदेशभरीमा बाढी, पहिरो, लगायतबाट जनधनको क्षति भएकाले लगत संकलन गरी राहत प्याकेज लगेर तुरुन्त बर्दिया जानका लागि उनले निर्देशन दिएका छन् । बाढीपहिरोले प्रदेशका नागरिकहरुलाई निकै संकट बनाएको भन्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

बर्दिया, बाँके लगायतका अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि नियमित रिपोर्टिङ गर्नका लागि मुख्यमन्त्रीले निर्देशन दिएका छन् । उनले भने, ‘नागरिकको जनधनको रक्षा गर्ने पहिलो प्राथमिकता सरकारको हो, तसर्थ समन्वय गरेर तुरुन्त बर्दिया जिल्लामा जानुहोस् । अन्य निकायसँग समन्वय गर्नुहोस् । प्रदेशमा सबैभन्दा बढी कर्णालीको बाढीले समस्या बनाएको छ ।’

उनले राहत तथा उद्धारका लागि संघीय सरकारकासँग पनि कुरा भइरहेको बताउँदै नागरिकको जीवन सुरक्षा नै पहिलो कर्तव्य भएकाले अगाडि त्यसै अनुसार काम गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिए । मुख्यमन्त्री केसीले नागरिकलाई आवश्यक पर्ने खाद्यन्न र जीवन सुरक्षासहित आपतकालीन राहतको व्यवस्था अहिले गर्ने, पछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट आएका निवेदनका आधारमा रातह प्रदान गर्न सकिने बताए ।

यस्तै छलफलमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले क्षतिको लगत संकलन गरी तत्काल राहत उपलब्ध गराउने जनाए । आफूले मन्त्रालयबाट आवश्यक सामान लगेर बाँके, बर्दियमा जाने बताए । आफूले क्षतिको बारेमा स्थलगत गएर मुख्यमन्त्रीलाई जानकारी गराउने र त्यसतर्फ आफू लागेको उनले बताए ।