December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

शेयर बजारमा उछाल, बुधबार ६०.५६ अंकले बढ्यो

बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि दुई दिनमा एक सय ४६ अंकले घटेको पुँजी बजार परिसूचक-नेप्से बुधबार भने बढेको छ।

Advertisement

मंगलबार साँझ नेपाल राष्ट्र बैंकले ब्याजदरमा भएको वृद्धि घटाउन बैंकहरुलाई निर्देशन दिएपछि भोलिपल्ट नेप्सेमा सुधार आएको हो। बुधबार नेप्से ६०.५६ अंकले बढेर २ हजार ५ सय ७१.६६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ६१ लाख एक हजार ४ सय १४ सेयर कित्ताको खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। युनिभर्सल पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। अन्य पाँच कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ।

ती कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र सीईडिबी हाइड्रोपावर रहेका छन्। सबैभन्दा बढी नेसनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरका शेयर कित्ता खरिद बिक्री भएका छन्। बुधबार ७ वटामात्र कम्पनीको शेयर मूल्य घटेको छ।

यसअघि नेप्से सोमबार ६९ र मंगलबार ७७ अंकले घटेको थियो।