October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्चबापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि, सोमबार लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार पनि गर्ने जनाइएको छ ।

गएको आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा चार नागरिकको मृत्यु भएको थियो । करिब ५० जना घाइते भएका थिए ।