महिला उद्यमीहरुलाई बैंकिङ्ग सम्बन्धी आधारभूत तालिम
भैरहवा– यहाँको सिद्धार्थ उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरी बैंकिङ्ग सम्बन्धी तालिम प्रदान गरेको छ । महिला उद्यमी विकास उपसमितको संयोजनमा तालिम आयोजना गरिएको थियो ।
तालिममा राष्ट्र बैंक मार्फत जारी गरिएको महिला उद्यमी लक्षित कर्जा लिन कसरी आवेदन दिने र कुन–कुन प्रकृया तथा काजगपत्रहरु तयारी गर्ने बारे तालिम प्रदान गरिएको थियो । समित संयोजक एवं संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपानेले महिला उद्यमीहरुलाई बैंकसम्म सहज पहुचँ गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् ।
संघका महासचिव विजय पाण्डेको संचालनमा सम्पन्न उक्त तालिममा बैंकर्स क्लब भैरहवाका अध्यक्ष खिमबहादुर कार्की, सचिव अमृत थापा, कोषाध्यक्ष प्रेमसागर अग्रहरी, कृषि विकास बैंक प्रदेश कार्यालयकी बरिष्ठ शाखा प्रमुख सिमा बनले आफ्ना अनुभव र बैंकिङ्ग प्रणाली, कर्जा प्राणाली बारे जानकारी गराएका थिए ।
तालिममा ऋचा केसी तथा कृष्णप्रसाद बस्यालूले प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्देश्यअनुसार लिएको कर्जाको सदुपयोग गरी व्यवसायिक दक्षता हासिल गर्दै अगाडि बढ्नु सहकभागीलाई आग्रह गरे । विना झन्झट सहज रुपमा कर्जा प्रवाह गर्ने गरी सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए । महिला उद्यमीहरुको विकासमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
तालिममा ४० जना महिला उद्यमीहरुको सहभागिता थियो । कार्यक्रम पश्चात संघले महिलाहरुलाई मात्र लक्षित गरी यस प्रकारको तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीहरुले संघलाई धन्यवाद दिएका थिए ।
प्रतिकृया दिनुहोस्