March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बुटवलका करदाताले लिए छुटैछुट

बुटवल– बुटवल उपमहानगरपालिका भित्रका करदाताले छुटैछुटको सुविधा लिएका छन् । करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको उपमहानगरमा कर छुटका व्यवस्था पछि हजारौं करदाताहरु यसबाट लाभान्वित भएका छन् ।

Advertisement

चार आर्थिक वर्षमा २३ हजार चार सय तीन जनाले व्यवसाय कर, ७० हजार ८ सय १९ जनाले सम्पत्ति कर र १२ हजार २ सय ८ जनाले घर बहालकरमा १० देखि २५ प्रतिशतसम्म कर छुट लिएका छन् ।

Advertisement

उपमहानगरको नेतृत्वमा जनप्रतिनिधि आएपछि तीन आर्थिक वर्षयता बढिरहेका करदाताहरुलाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्थाहरु ल्याइएको थियो । राजश्व शाखाका अनुसार व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६ सय ४५ जना छन् । २५ प्रतिशत छुट लिने ६ हजार २ सय ६५ जना छन् ।

सम्पत्ति करमा उपमहानगरपालिकाले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको थियो । ‘१० प्रतिशत छुट लिने कर दाताहरु ४८ हजार ७८ जना छन् भने १५ प्रतिशत कर छुट लिनेहरु २२ हजार १ सय ४१ जना छन्’, उपमहानगर प्रमुख शिवराज सुवेदीले भने ।

उनकाअनुसार बहालतर्फ १० प्रतिशत कर छुट लिनेहरुको संख्या ८ हजार चार सय ३६ छ । २५ प्रतिशत कर छुट लिनेमा ३ हजार ७ सय ७२ जना छन् । कोभिडको महामारीमा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७–७८ मा सबै खाले करमा भारी छुट दिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उक्त आबमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर बहाल करमा २५ प्रतिशत कर छुट दिएएको थियो । व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

‘करदाता महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यक भएमा उनीहरुलाई सम्पत्ति कर, व्यवसाय कर र घरबहाल करमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेका छौं’, रेग्मीले भने ।