April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

मायादेवी फाउण्डेसनले कोभिड–१९ अवार्ड प्रदान गर्ने

भैरहवा– यहाँको मायादेवी च्यारिटेवल फाउण्डेसनले कोभिड–१९ अवार्ड प्रदान गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संस्थाले कोरोना महामारी नियन्त्रण र उपचार तथा सचेतना जगाउन विभिन्न माध्यमबाट सहयोगी भूमिका निर्वाह गरेका व्यक्तिलाई अवार्ड प्रदान गर्ने जनाएको छ ।

Advertisement

फाउन्डेसनका अध्यक्ष रविकुमार रौनियारले असोज २३ गते कोभिड–१९ अवार्ड वितरण गर्न लागिएको बताए । ‘जटिल समयमा आफ्नो पेशा र व्यवसायलाई त्याग गरेर कोभिडका लागि खटेर काम गरेका लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाका १–१ जनालाई सम्मान गर्ने छौं’, उनले भने ।

Advertisement

यसका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको र प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेका व्यक्तिलाई सम्मान गर्ने रौनियारले जनाए । उनले फाउन्डेसलाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

‘सफाइकर्मी, चिकित्सक, पत्रकार, समाजसेवीलाई हामीले अवाड प्रदान गर्ने छौं’, उनले भने । लुम्बिनीका स्व. पत्रकार बिन्दुकुमार चौहानको परिवारलाई पनि आर्थिक सहयोग गर्ने फाउण्डेसनले जनाएको छ ।

२०७६ साल बैशाखमा स्थापना भएको फाउण्डेसनले सुरुवातमा २० रुपैयाँमा खाना खुवाउने कार्यक्रम गरेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण खाना खुवाउने कार्यक्रमलाई स्थगित गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको अध्यक्ष रौनियारले जानकारी दिए ।

‘अहिले विपन्न परिवारका व्यक्ति, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने छौं’, उनले भने, ‘दशै–तिहार पछि पुनः अन्नपूर्ण भोजनालय मार्फत २० रुपैयाँमा खाना खुवाउने कार्यक्रम सुरु गरिने छ ।’