लुम्बिनी घुम्न सस्तो प्याकेज


लुम्बिनी – कोरोनाले थलिएको पर्यटन उकास्न लुम्बिनी होटल संघले विभिन्न सरोकारवाला संस्थासित समन्वयमा बुद्व जन्मस्थल भ्रमणका लागि सस्तो प्याकेज सार्वजनिक गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा सोमबार यस्तो घोषाणा गरिएको हो ।
लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले असोज १५ गतेदेखि लागू हुने गरेर एक रात दुई दिनको भ्रमण प्याकेज घोषणा गरेको बताए । संघका महासचिव शर्माका अनुसार प्याकेजको पहिलो दिन बसपार्कबाट होटलसम्म पिकअप, लुम्बिनीबारे जानकारी, विश्राम, साँझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण र खाना रहेका छन् ।
दोस्रो दिन बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना, विश्राम र बिदाइ रहेका छन् । संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफाष्ट, धुप वत्ती, गाइड, बुद्वग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायात व्यवस्था छन् ।
‘यसले लुम्बिनीमा पाहुना आकर्षित गर्ने विश्वास छ’, उनले भने, ‘यो धेरै सस्तो प्याकेज हो । यहाँ आउने पाहुनाले चाहेमा अन्य बौद्व क्षेत्र पनि भ्रमण गराउने छौं ।’ कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र उकास्न व्यवसायीले अनेक जुक्ती लगाइरहेका छन् । डेढ वर्षयता महामारीले पर्यटन व्यवसाय धरासायी भएको छ ।
विश्व पर्यटन केन्द्र लुम्बिनी अधिक पर्यटन तान्न आफुहरुले सक्दो प्रयास गरेको पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले बताए । ‘लामो समय पर्यटन क्षेत्र ठप्प रह्यो’, उनले भने, ‘अहिले नाका खुलेपछि चहलपहल बढ्ने अपेक्षा छ ।’
सहज अवस्थामा लुम्बिनीमा स्वदेशी तथा विदेशी गरी १६ लाखको हाराहारी पर्यटक आउँथे । तर, डेढ वर्ष यता पर्यटक आगमन अत्यन्तै न्युन छ । तेस्रो मुलुकका खासै छैनन् । भारतीय पनि फाट्टफुट्ट मात्रै आएका छन् । आन्तरिकको पनि भीड छैन । पर्यटन व्यवसायीले प्याकेट ल्याएपछि पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस्