January 25, 2025, Saturday
२०८१ माघ १३

पर्यटकका लागि खुल्ला गरियो बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज

बाँके/बर्दिया– पाँच महिना पछि मुलुकका मुख्य पर्यटकीय गन्तव्यमध्येका बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आजदेखि खुलेका छन् । गत वैशाख दोस्रो सातादेखि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आजदेखि पर्यटकलाई अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुला गरिएको जानकारी दिए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइने हुँदा स्वदेशी र विदेशी पर्यटक ठूलो संख्यामा पुग्ने गरेका छन् । यद्यपि कोराना महामारीका कारण विदेशी पर्यटक पुग्न सकेका छैनन् । आन्तरिक पर्यटक पनि न्यून छन् । अब आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

Advertisement

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जंगल ड्राइभ (सफारी), र्याफ्टिङ र जंगल वाक् गर्न मात्र अनुमति दिइएको बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था उनले बताए ।

पर्यटन व्यवसायीले निकुञ्ज खुला हुने भएपछि खुसी व्यक्त गरेका छन् । अब केही हदसम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले जनाए । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठूला होटल सञ्चालनमा छन् । यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइन्छ भन्दै बढी पर्यटक भित्रिने गर्छन् ।