September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

असोज ४ देखि दसैं–तिहारका लागि नयाँ नोट साट्न पाइने

दसैँ तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले राष्ट्र बैंकले असोज ४ गतेदेखि असोज २४ गतेसम्म वितरण गर्ने जानकारी दिएका हुन्।

राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने जानकारी दिएको हो।

उनका अनुसार राष्ट्र बैंकले एक साता अघि देखिनै बैंकहरुलाई नयाँ नोट दिन थालेको हो। सर्वसाधारणलाई भने असोज ४ गतेदेखि वितरण गर्ने उनले बताए।

यस्तै उनले दसैँ–तिहारको बिदा अघि नै सातै पैदेशका कार्यालयबाट नयाँ नोट वितरण गरिसक्ने बताए।

साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट संस्थागत प्रयोजनका लागि उपलब्ध गराउने छ।

यस्तै राष्ट्र बैंकले दसैँमा नयाँ नोट सटहीका लागि भनेर २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको छ भने त्यसमा सानादरका नयाँ नोट ५० अर्ब रुपैयाँ र ठूला दरका नोट १ खर्ब ५० अर्ब रुपैयाँ स्टकमा राखेको छ।

राष्ट्र बैंकका अनुसार स्टकमा नयाँ नोट रहेकाले नयाँ नोट सटहीमा कुनै समस्या हुनेछैन।