बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन बनाउन लगानी सम्झौता


करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ।
लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा बुधबार दुईपक्षीय लगानी स्म्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
कुल ४०० केभी क्षमताको उक्त प्रसारणलाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाएको थियो। सो सहमतिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिडले समान लगानी गर्ने सहमति भएको थियो।
बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको भारतको राजधानी नयाँ दिल्लीमा रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पाेरसेन अफ इण्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको उनले बताए।
सो प्रसारणलाइन अमेरिकी सहयोग परियोजना एमसिसीसँग पनि जोडिन पुगेको छ। काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको प्रसारणलाइन बुटवलसम्म पुग्नेछ । बुटवलमा निर्माण हुने ४०० केभी क्षमताको सवस्टेशन भएर सो प्रसारणलाइन भारतको गोरखपुरमा जोडिनेछ।
एमसिसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको क्रममा नै प्रसारणलाइन निर्माणका विषयमा सहमति हुनुलाई जानकारले सकारात्मक परिघटनाको रुपमा टिप्पणी गरेका छन्।
भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फका कार्यकारी निर्देशक वाई के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। मन्त्रिपरिषद्को गत साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो।
सम्झौतामा हस्ताक्षरपछि प्रसारणलाइनअन्तर्गत भारततर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०-५० प्रतिशत संस्थापक शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताए।
‘दुई मुलुकबीचका सचिव र सहसचिवस्तरीय संयन्त्रका बैठकले भारतर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भए तापनि मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा शेयर होल्डर सम्झौता हुन सकेको थिएन’, उनले भने, ‘मन्त्रिपरिषदको स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्ध–पत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ ।’
उनले प्रसारणलाइन साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए।
बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको लम्बाइ १२० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ। नेपाल खण्डको प्रसारणलाइन नेपाल आफैले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०-५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन्।
प्रसारणलाइनले करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए।
‘अहिले सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्छ’, उनले भने, ‘यो प्रसारणलाइन दुई मुलुकबीचको विद्युत व्यापारका लागि लाइफलाइन हुनेछ।’
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानी स्वरुपलाई टुङ्गो लगाएको थियो। करिब ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ।

प्रतिकृया दिनुहोस्