April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तयार हुँदैछ ढुवानी ग्राम

बुटवल – यहाँ ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम तयार हुँदैछ । छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा राख्ने उद्देश्यले यहाँ ढुवानी ग्राम निर्माण भइरहेको हो । काम अन्तिम चरणमा पुगेको छ । बुटवल उपमहानगरपालिका–१२ मा निर्माण हुँदै गरेको ढुवानी ग्राम आउँदो कातिक १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

Advertisement

‘नगर क्षेत्रमा छरिएर रहेका सम्पूर्ण ढुवानी व्यवसायहरुलाई यहाँ स्थानान्तरण भइ आफ्नो व्यवसाय सञ्चालन गर्ने स्थान सुरक्षित गर्नुहुन अनुरोध गरेका छौं’, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले भने । उपमहानगरपालिले ढुवानी व्यवसायीहरुको नाममा सूचना जारी गर्दै कार्तिकदेखि ढुवानी ग्राम सञ्चालनमा आउने र त्यसअघि सो ठाउँमा स्थानान्तरण भइसक्न भनेको छ । यसका लागि आउँदो असोज मसान्तसम्मको समयसीमा तोकिएको छ ।

Advertisement

आयोजनाको काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले बताए । २०७६ पुस १ मा बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भइ ट्रान्सपोर्ट भिलेज निर्माण सुरु भएको हो । यहाँ ४९ वटा व्यवसायिक टहरा परिवहन प्रालिले बनाउने र अन्य पूर्वाधार बुटवल उपमहानगरपालिकाले बनाउने समझदारी छ ।

‘यहाँ अहिले २७ वटा व्यवसायिक टहरा तयार भइसकेका छन्’, प्रशासकीय अधिकृत रेग्मीले भने, ‘निर्माण भइरहेका अन्य १३ वटाको काम अन्तिम चरणमा पुगेको छ ।’ उपमहानरपालिकाले बनाउनुपर्ने पहुँच सडक, खानेपानी, बाउण्ड्री वाल तयार गरेको छ । यस बाहेक यहाँ सार्वजनिक शौचालय, विद्युतीकरण, चमेनागृह, गार्डरुम, क्लिनिक, गाडीको सर्भिस सेन्टर र प्रहरी पोष्ट उपमहानगरपालिकाले बनाउनुपर्ने छ । यी पूर्वाधारहरुको काम पनि भइरहेको जनाइएको छ ।

४० वटा सटर तयार भएपछि व्यवसाय यहाँ सुरु गरिने इन्जिनियर बस्यालले बताए । बाँकी ९ वटा टहरा निर्माणको काम अब सुरु गरिने छ । खुद्रा तथा ढुवानी व्यवसायीहरुको संस्था ढुवानी व्यवसायी समितिले बर्षौ अघिदेखि ढुवानी ग्राम निर्माणको माग गर्दै आएका थिए । व्यवसायीहरुले प्रालिमा कम्पनी दर्ता गरेपछि मात्र ढुवानी ग्राम बनाउन जग्गा पाएका हुन् ।

ढवाहाको २ विघाह १४ कठ्ठा जग्गामा २६ करोड २२ लाख लागतमा ढुवानी ग्राम निर्माण भइरहेको हो । ढुवानी व्यवसायीहरु बुटवलका विभिन्न ठाउँमा छरिएर रहेका छन् । यहाँ ग्राम तयारी भएपछि व्यवसायी एकीकृत हुनेछन् । यसले सेवाग्राहीलाई समेत सहज हुनेछ ।

रुपन्देही परिवहन प्रालिका अध्यक्ष तथा समितिका पूर्व अध्यक्ष कमल घिमिरेले लामो समयदेखि ढुवानी ग्राम बनाउने चाहाना बल्ल पूरा हुन लागेको जनाए । ‘हामीले दुई दशक अघिदेखि ढुवानी ग्रामको माग गरेका थियौं’, उनले भने, ‘उपमहानगरले प्रालिमा गए मात्र जग्गा दिन मिल्छ भनेको थियो । प्रालि बनायौं र अनुमति पायौं । ग्राम संचालनमा आएपछि हामीलाई निकै सहज हुनेछ ।’ जिल्लामा ढुवानी व्यवसायी ३६ जना छन् । व्यवसायीहरुले ट्रान्सपोर्ट भिलेजमा स्थानान्तरणको तयारी भइरहेको जनाएका छन् ।