January 23, 2025, Thursday
२०८१ माघ १०

जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जका बजारमा अधिक विक्री

बाँके– नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको हो ।

यहाँ फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ, विक्री हुन्छ ।

Advertisement

नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।

जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको व्यापारी बताउँछन् । अहिले सुरुआती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारीले बताए ।

जुम्लाको स्याउले नेपालगञ्जको बजारमा पकड जमाएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहुले बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको बताए। ‘जुम्लाको स्याउसँगै नेपालगञ्ज बजारमा भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ’, भन्छन्, ‘जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।’

नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रतिकिलो बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले जानकारी दिए । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्ने गरेका छन् । नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ ।