November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

दैनिक दश टन च्याउ उत्पादन गर्दै अष्ट्रिच नेपाल, लगानी एक अर्ब

भैरहवा – नबिनतम प्रविधिको प्रयोग गरेर रुपन्देहीमा मुलुककै ठूलो च्याउ फार्म सञ्चालन भइरहेको छ । एक अर्बको लगानीमा अष्ट्रिच नेपाल प्रालिले जिल्लाको तिलोत्तमामा च्याउ खेती शुरु गरेको हो ।

Advertisement

२०६५ सालमा नेपालमा पहिलो पटक अष्ट्रिचको व्यवसायिक पालन रुपन्देहीबाट शुरु भएको हो । बिदेशी पर्यटकलाई लक्षित गरि देशका सबै पर्यटकीय क्षेत्रहरुमा अष्ट्रिचको मासु बिक्री हुन्थ्यो । डेढ वर्षयता बिदेशी पर्यटकको आवागमन प्रायः ठप्प छ । आन्तरिक बजारमा समेत मासु खपत न्यून छ ।

Advertisement

मासु विक्री नभएपछि पालेका अष्ट्रिच बुढा हुँदै गए । चरा हुर्काउन मात्रै दैनिक करिब दुई लाख खर्च हुन थाल्यो । त्यसको बिकल्पमा अष्ट्रिच नेपाल प्रालिले डल्ले च्याउ खेती शुरु गरेको सञ्चालक सिपी शर्माले जानकारी दिए । ‘हामीलाई चल्न र चलाउनका लागि, बाँचेका अष्ट्रिचलाई दाना खुवाउन समेत समस्या सिर्जित भैरहेको छ’, शर्माले भने, ‘व्यापार ठप्प छ, त्यसैले यसको उप–उत्पादन सदुपयोग गरेका छौँ ।’

अष्ट्रिचको गोबर च्याउ उत्पादनमा प्रयोग भएको उनले बताए । ४५ वटा कक्षमा वातानुकुलित प्रणाली जडान गरेर च्याउ फार्म शुरु भएको छ । अहिले ३५ वटा कक्षबाट च्याउ उत्पादन हुन्छ । दश वटा निर्माणाधीन अवस्थामा छन् । दैनिक दश टन च्याउ उत्पादन हुने फार्म सञ्चालक शर्माले बताए ।

‘सबै कक्षबाट उत्पादन हुन अझै दुई महिना लाग्छ, त्यसपछि नेपाल डल्ले च्याउमा आत्मनिर्भर हुने हाम्रो दाबी छ’, उनले भने । भारतबाट दैनिक २० टन डल्ले च्याउ आयात हुने भन्सार विभागको तथ्यांक छ । आयातित च्याउ प्रतिस्थापन गर्ने लक्ष्य फार्मको छ ।

भारतबाट कच्चा पदार्थ ल्याएर उतैको बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैनन् । भारतमा भन्दा उत्पादन लागत ४० प्रतिशत महंगो पर्छ । स्वाद र गुणस्तर राम्रो भएकाले शूल्क बढी हालेरै उपभोक्ताले च्याउ खरिद गरिरहेका छन् । ‘हेर्दा राम्रो छ, ताजा देखिन्छ र खाँदा झनै मिठो स्वाद छ’, स्थानीय उपभोक्ता राजेन्द्रप्रसाद पौडेलले भने, ‘त्यसैले महँगो भए पनि यहीँकै च्याउले मोहनी लगायो ।’

भारतबाट आउने च्याउ विभिन्न रासायनिक पदार्थ मिसावट गरेर आउने उनले बताए । ‘त्यस्तो च्याउ खादा जोखिम हुन्छ । त्यसैले अलिकति महंगो भए पनि स्वदेशी च्याउ नै उपभोग गर्नु ठीक लाग्छ’, उनले भने ।

भारतको च्याउ बजारमा प्रतिकेजी एक सय ६० रुपैयाँमा पाइन्छ । नेपाली च्याउ तीन सयमा विक्री भइरहेको छ । कच्चा पदार्थमा १८ प्रतिशत भन्सार महशुल, महंगो विद्युत महशुल, ज्याला र यातायातको भाडादर भारतमा भन्दा महँगो छ । एन्टी डम्पिङ्ग र काउन्टरवेलिङ्ग कानून कार्यान्वयनमा नल्याउँदा भारतबाट कम गुणस्तर उक्त च्याउ भित्रिरहेको छ । नेपाली किसानलाई स्थापित गर्न भारतीय च्याउ बन्द गर्नुपर्ने किसानहरुको माग छ ।