May 12, 2025, Monday
२०८२ बैशाख २९

रोहिणीमा घर–संरचना बनाउँदा अनिवार्य नक्शा पास गर्नुपर्ने

भैरहवा– यहाँको रोहिणी गाउँपालिकाले घर एवम् अन्य संरचना बनाउँदा अनिवार्य नक्शा पास गर्नु पर्ने नियम लागू गरेको छ । यसअघि पालिकामा यो नियम लागू भए पनि कडाई गरिएको थिएन । जसले गर्दा कयौं घर तथा अन्य भौतिक संरचना नक्शा पास विनै निर्माण भएका थिए ।

आजदेखि लागू हुने गरी गाउँपालिका क्षेत्रमा संरचना निर्माण गर्दा अनिवार्य नक्शा पास गर्नु पर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘गाउँपालिकाभित्र विगतमा बनेका घर, भवन, कलकारखाना एवम् अन्य भौतिक संरचनाको भाद्र ८ गतेदेखि २०७९ असार मसान्तसम्म नक्शा पास नगराए नियमानुसार जरिवाना लाग्ने छ ।’

Advertisement

गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सापास हुन बाँकी भवलन, कलकाराखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्तसम्म गरि सक्न गाउँपालिकाले अनुरोध गरेको हो । सो मितिभित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

‘अब, नयाँ बन्ने भवन, कलकारखाना एवम् अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्शा पास गराउनु पर्ने छ’, न्यौपानेले भने । अहिले नक्शा पास गरि घर बनाए नियमअनुसारको दस्तुर मात्र लाग्ने र कानूनविपरीत गई संरचना बनाए दस्तुरसँगै जरिवाना समेत लाग्ने भएकाले उनले समयमै नक्शा सम्बन्धि काम गर्न आग्रह गरे ।

साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टी गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए । उनले भने, ‘यस अघि अब्यवस्थित रुपमा बसोबास रहेका कारण बिभिन्न विकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको थियो । ब्यवस्थित बसोबासका लागि घर नक्शा पास अपरिहार्य छ ।’

कानूनअनुसार नक्सापास भए यसले नागरिक र स्वयम् गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकाबासीलाई सहभागी हुन आग्रह अध्यक्ष यादवले गरे । नक्शा पास गरेर भवन भनाए पालिकाको राजश्वमा बृद्धि हुनुका साथै घर तथा भवन व्यवस्थित हुने गाउँपालिकाको विश्वास छ ।