August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

सशस्त्रद्वारा करोडौं राजश्व छल्न सकिने नक्कली स्टीकर बरामद

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डा, रुपन्देहीले दुई जना व्यक्तिसहित करोडौं रुपैयाँको राजश्व छलि गर्न सकिने आन्तरिक राजश्व विभागको नक्कली स्टीकर पक्राउ गरेको छ ।

Advertisement

उक्त पोष्टका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद आर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोवाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित एक घरबाट २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टीकर शुक्रबार राति बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उक्त घरमा छापा हानेर घर धनि २३ वर्षीय सहिद अन्सारी र उक्त ठाउँकै २४ वर्षीय अमानत अलीलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेटक्वाटर, रुपन्देहीका प्रमुख एसपी राजेश उप्रेतीले बरामद गरिएका ती स्टीकर र पक्राउ परेका दुई व्यक्तिलाई शुक्रबार राति नै थप अनुसन्धान र कारवाहीका लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको बताए ।

‘ठूलो परिणाममा नक्कली स्टीकर बरामद गरिएपछि गनेर सक्न र आवश्यक प्रक्रिया पूरा गर्न हामीलाई धेरै समय लाग्यो’, उनले भने, ‘स्टीकरमा ‘आन्तरिक राजश्व विभाग’ लेखेर छापिएको प्रति रोल ३ हजारका दरले ८० वटा रोल बरामद गरेका छौं ।’

उनका अनुसार, राजस्व कार्यालयको प्रारम्भिक अध्ययन अनुसार बरामद गरिएका ती स्टीकरबाट अन्तशुल्क, भ्याट र आयकर गरि २ करोड ३५ लाख ६३ हजार रुपैयाँ भन्दा धेरै राजश्व छलि हुन सक्ने देखिन्छ ।

पक्राउ परेका व्यक्तिको बयानको आधारमा ती स्टीकर ढुवानीका लागि प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी पनि नियन्त्रणमा लिई राजस्व कार्यालय बुझाइएको उप्रेतीले बताए ।

उनीहरुले कसका लागि ती स्टीकर पुर्याउन खोजेका थिए ? यस भन्दा अघि पनि यसरी प्रयोग भएको थियो/थिएन ? लगायतका विषयमा छानबिन भैरहेको छ ।