सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन


बुटवल– प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका–११ मा रहेको संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जीतबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा बोल्दै पछाईले देशभर ५५ जिल्लामा सामुदायिक विद्युत सेवा पुर्याईको जानकारी गराए । अध्यक्ष मल्लले संस्थाको आवश्यकताको आधारमा सभाहल निर्माण गरिएको बताउँदै संस्थालाई मात्रै नभएर त्यस क्षेत्रका अन्य गतिबिधि गर्नको लागि समेत सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा सभाहल निर्माण समितिका संयोजक राजकुमार गुप्ताले गत फागुनदेखि सुरु गरिएको सभाहल निर्माणको काम कोरोना महामारीका बिच पनि आफूहरु खटिएर असार मसान्त भित्रै सम्पन्न गरेको जानकारी गराए । ६८ लाख ३६ हजार ६१७ रुपैयाँ लागत मूल्यांकन भएको सभाहल ४८ लाख ६८ हजार ४५८ रुपैयाँमा निर्माण सम्पन्न गरिएको बताउँदै उनले १९ लाख ६८ हजार १५९ रुपैयाँ संस्थालाई बचत गरिएको जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्णबहादुर जिसी, ईन्द्रबहादुर राई, समाजसेवी गोपाल केसी, नरसिंह रावत लगायतले भनाई राखेका थिए । संस्थाका अध्यक्ष जीतबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रम सचिव तथा अनुगमन समितिका संयोजक राजेश बुढाथोकीको सञ्चालनमा भएको थियो ।








प्रतिकृया दिनुहोस्