March 22, 2025, Saturday
२०८१ चैत्र १०

संघद्वारा एक महिनाको भाडा छुट

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संगम पथमा रहेको संघको भवनमा भाडामा व्यबसाय सञ्चालन गरेका व्यबसायीहरुलाई एक महिनाको भाडा छुट गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले एक महिनाको भाडा छुट गर्नुको साथै चालु वर्ष भाडा बृद्धि नगर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण व्यापार–व्यबसाय बन्द गर्नुपरेको र बन्द हटे पनि व्यापारमा मन्दी आउँदा व्यबसायी मर्कामा परेकाले केही थोरै राहत होस् भनेर भाडा छुट गरेको र भाडा बृद्धि नगर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । संघले घरधनीहरुलाई आफ्नो घरमा व्यबसाय सञ्चालन गरेका व्यबसायीलाई आफू सक्दो भाडा छुट गर्न समेत आग्रह गरेको छ ।

Advertisement

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष र पूर्व अध्यक्ष कुशप्रसाद मल्ली नेपाल सरकारको विभुषण समितिको सदस्यमा मनोनित भएकोमा दुबैजनालाई बधाई ज्ञापन गरेको छ ।

बैठकले चालु आर्थिक वर्षको संघको प्रस्तावित अनुमानित आयव्यय समेत पारित गरेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले चालु आर्थिक वर्षको प्रस्तावित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल र सुरेन्द्रप्रसाद श्रेष्ठले धारणासहित सुझावहरु राखेका थिए । यस्तै विषयगत संयोजकहरुले विषयगत समितिमा भएका कृयाकलापहरुको बारेमा जानकारी गराएका थिए ।

संघको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक भएको छ । संघले गुणस्तर व्यबस्थापन प्रणाली आई.एस.ओ. ९००१ः २०१५ मा परिमार्जित भई गुणस्तर प्रमाणित भएको हो । संघको गुणस्तर प्रमाण चिन्ह आई.एस.ओ. ९००१ः २००८ प्रभाणित थियो ।

हालै गुणस्तर प्रमाण चिन्ह आ.ई.एस.ओ. ९००१ः २०१५ प्राप्त भएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए । संघले गुणस्तरीय व्यबस्थापन प्रणाली स्थापनाका लागि सन् २००० देखि नै व्यवस्थापन सुधारका काम गर्दै आएको थियो । जसका कारण आई.एस.ओ. ९००१ः २००८ हुँदै आई.एस.ओ. ९००१ः २०१५ प्राप्त गरेको हो ।