भन्सार परिसरमा रोकिएको ट्रकमा आगलागी


भैरहवा– भैरहवा भन्सार कार्यालयको पार्किङ यार्डमा राखेको भारतीय मिनी ट्रकमा आगलागी भएको छ ।
युपी १३ बीटी ९०८६ नम्बरको ट्रकमा एजोडाइ कार्बोनामाइड रसायन थियो । रासायनिक प्रतिक्रियाले ट्रकमा आज बिहान सात बजे आगालागी भएको इलाका प्रहरी कार्यालय, बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए ।
आगालागीबाट ५० लाख बढीको क्षति भएको छ । एजोडाइ कार्बोनामाइड रसायन टाँक, पि–फोम बनाउन तथा खानेकुरामा मिसावटका लागि प्रयोग गरिन्छ । यो रसायन टाँक बनाउन काठमाडौँ जाने तयारीमा रहेको भन्सार कार्यालयले जनाएको छ
खानेकुरामा यो रसायनको मिसावटले मानव स्वास्थ्यमा असर गर्ने चिकित्सकहरु बताउँछन् । रुपन्देहीमा हिजोदेखि अविरल वर्षा भैरहेको छ । पानी छेक्न ट्रकमा सामान्य त्रिपालले छोपिएको थियो ।
रसायनमा पानी पसेपछि त्यसको प्रतिक्रियाले आगो लागेको अनुमान गरिएको छ । दमकलको माध्यमले केही बेरमै आगालागी नियन्त्रणमा आएकाले ठूलो क्षती टरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्