July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

अनुदान दुरुपयोग : तीन दिनभित्र पैसा फिर्ता गर्न निर्देशन

भैरहवा– लुम्बिनी सांस्कृतिक नगरपालिकामा अनुदान रकम दुरुपयोग भएको छानविन समितिले ठहर गरेको छ । समितिले दुरुपयोग गरिएको रकम फिर्ता गर्न नगरपालिकालाई सुझाव दिएको छ । छानविन समितिको प्रतिवेदनअनुसार नगरपालिकाले तीन दिनभित्र रकम फिर्ता गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताए ।

Advertisement

नगरपालिकाको वडा नम्बर–२, लम्तिहवा र भरथापुरका किसानलाई आएको अनुदान रकम एउटै लालपुर्जा भएका एकै परिवारका दुई जना र खेती नै नगरेका गैरकिसानलाई दिइएको भन्दै पब्लिक कुरा डटकममा समाचार प्रकाशित भएको थियो । त्यसपछि नगरपालिकाले शिक्षा शाखा अधिकृत लक्ष्मी पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

Advertisement

छानविन समितिले अशोक लोध, राजु मल्लाह, मुरलीधर लोध र साधुसरन मल्लाबाट अनुदानवापत पाएको रकम फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उनीहरु चारै जनालाई पत्र काटेर तीन दिनभित्र नगरपालिकाको बैंक खातामा रकम जम्मा गर्न निर्देशन दिइएको छ । वडाअध्यक्ष रमेशप्रसाद निषाद र कृषि शाखाका कर्मचारी करिश्मा क्षेत्री र अमिन चौधरीलाई सचेत गराइएको प्रशासकीय अधिकृत पाण्डेयले बताए । क्षेत्री नगरपालिकाको कृषि शाखामै कार्यरत छिन् भने चौधरीले भने अवकास पाइसकेका छन् ।

कोरोना विशेष कृषि कार्यक्रम अन्तर्गत ‘एक स्थानीय तह, एक उत्पादन कार्यक्रम’मार्फत् लुम्बिनी प्रदेश सरकारले नगरपालिकालाई १७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । मापदण्डमा कम्तिमा तीन कठ्ठामा तरकारी खेती गर्ने र एउटै लालपुर्जाबाट एक जना किसानलाई मात्रै २० हजार रुपैयाँका दरले अनुदान दिने प्रावधान राखिएको थियो । जसअनुसार नगरपालिकाले २०७७ चैत १२ मा सूचना प्रकाशित गरी अनुदान माग गरेका ६९ जना किसानलाई अनुदान रकम बाँडेको थियो ।

वडाध्यक्ष निषाद र कृषि शाखाका कर्मचारी चौधरी र क्षेत्रीको मिलेमतोमा लुम्बिनीको वडानम्बर दुईमा भने गैरकिसानलाई अनुदान बाँडिएको थियो । नगरपालिकाका अनुसार छानविनका क्रममा राजु मल्लाहले मृतक आफ्ना बुवाको नाममा सिफारिस गराएर सबै कागजी प्रक्रिया पूरा गरी आफ्ना नाममा भुक्तानी लिएको, साधुसरन मल्लाहले ठूलो बुवा सोमनाथ मल्लाहको नाममा रहेको जग्गाधनी पुर्जा प्रयोग गरी आफ्नो नाममा सिफारिस गराएर अनुदान रकम खाएको, मुरलीधर लोध र परशुराम लोध बाबु छोरा भएको र एउटै पुर्जाबाट अनुदान लिएको पाइएको थियो ।

यस्तै, रामबकश लोध र अशोक लोध बाबुछोरा भएको र उनीहरु बाबुछोराले नै एउटै पुर्जाबाट अनुदान रकम लिएको छानविन समितिले जनाएको छ । अनुदान दुरुपयोग गर्ने चारै जनाले तरकारी खेती गरेको भन्दै २०–२० हजार रुपैयाँ पाएका थिए ।