April 22, 2025, Tuesday
२०८२ बैशाख ९

५० हजार किसानलाई आलु खेतीमा लगाउने योजना

भैरहवा– यहाँको एउटा उद्योल कम्तिमा ५० हजार किसानलाई व्यवसायिक आलु खेतीमा लगाउने गरी योजना अघि सारेको छ । वि.सं. २०८० सम्ममा लुम्बिनी प्रदेशका तराईका जिल्लाका ५० हजार बढी किसानलाई आलु खेतीमा लगाउने उद्योगले योजना बनाएको हो ।

रुपन्देहीको शुद्धोधनमा फस्र्ट च्वाइस फूड्स प्रालिले उद्योग निर्माण गरिरहेको छ । डेढ अर्ब लागतमा आलुका परिकार गराउने गरी उद्योग निर्माण जारी छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

Advertisement

शुद्धोधन–४ स्थित उद्योग निर्माणस्थल आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक कृष्णप्रसाद पौडेलले किसानलाई आत्मनिर्भर बनाउने र आलुखेतीमा लगाव बढाउने गरी योजना अघि बढाएको बताए । उद्योग आउँदो बैशाखबाट संचालनमा ल्याउने गरी काम भइरहेको छ ।

संचालक पौडेलका अनुसार पहिलो वर्ष आलुको परिकार फ्रेन्च फ्राइज उत्पादन गरिने छ । ‘अर्को बर्षबाट बर्गर, समोसा, टिक्कीलगायतका आलुका परिकार उत्पादन गर्छौं’, उनले भने । जर्मन प्रविधिको मेसिनबाट उत्पादन हुने यी परिकारहरू स्वदेशी खपतका लागि मात्र नभई दुवई, मलेसिया, भारत, पाकिस्तान लगायतका देशमा पनि निर्यात गर्ने योजना बनाइएको छ ।

उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्ने जनाइएको छ । ‘यति धेरै आलु विदेशबाट आयातभन्दा पनि स्वदेशकै प्रयोग गर्ने हाम्रो योजना छ । यसका लागि किसानलाई तालिम दिएर हामीले आलु खेतीमा आकर्शित गर्छौं’, पौडेलले भने, ‘अहिले धमाधम किसानलाई सिकाउने काम भइरहेको छ । जतिसक्दो धेरै किसानहरुलाई आलु खेतीमा प्रेरित गर्छौं ।’ स्वदेशी आलु प्रयोग गरी विदेशबाट आलुको आयातलाई निरुत्साहन गर्ने यहाँकै किसानलाई स्वरोजगार बनाउने उद्योगको लक्ष्य छ ।

उद्योगलाई आवश्यक पर्ने आलुको उत्पादन प्रक्रिया र बजारिकरणमा कम्पनीले किसानलाई प्रत्यक्ष सहयोग गर्नेछ । उद्योगमा कच्चा पदार्थका रुपमा ठूलो परिमाणमा आलु चाहिने हुँदा धेरैभन्दा धेरै किसानलाई आलु उत्पादनमा जोडिने संचालकले बताए । ‘पहिलो चरणमा लुम्बिनीका रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियाका किसानलाई आलु खेतिमा लगाइने छ । त्यसका लागि यी जिल्लाहरुका किसानसँग हालैमात्र अन्तरक्रिया गरी योजना अगाडि बढाएका छौं’, उनले भने ।

नेपालमा हाल भारत र बेल्जियम लगायतका मुलुकबाट वार्षिक १७ अर्ब रुपैयाँको आलुका तयारी परिकारहरु नेपालमा आयात हुने गरेको उद्योगले जनाएको छ । ‘जसबाट ठूलो रकम विदेशिने गरेको छ । यसलाई रोक्नु हाम्रो प्राथमिकता हुनेछ’, पौडेलले भने ।

स्वदेशको खपतका लागि मात्रै नभई विदेशमा निर्यात गर्नसमेत पहिलो बर्षमा १० हजार टन आलुका परिकार उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको संचालकको दावी छ । आलु र आलुका परिकारको आयातलाई निरूत्साहन गरि स्वदेशमा नै उत्पादन गर्ने हेतुले आलु वालीमा आधारित उद्योग खोल्न लागिएको उद्योगी पौडेलले बताए ।

शुद्धोधनका अध्यक्ष किसुनचन्द्र चौधरीले उद्योगको स्थापनासँगै यहाँका किसानहरुका लागि ठूलो मौका आएको बताए । ‘यो स्वरोजगारसँगै आत्मनिर्भर हुने मौका पनि हो’, उनले भने, ‘हामीले जतिसक्दो यहाँका किसानलाई आलुखेतीमा लाग्न प्रेरित गर्नेछौं ।’

उत्पादनमा किसानहरुलाई प्रोत्साहित गर्न आलु उत्पादनका लागि किसानलाई चाहिने प्राविधिकदेखि भण्डारणसम्मका योजनाहरु उद्योगले अगाडि सारेको बताए । नेपालमा फ्रेन्च फ्राइजका लागि उपर्युक्त जात छैनन् । ती जातहरु ल्याएर टिस्यु कल्चरद्वारा यहीँ बीउ उत्पादन गर्न सकिन्छ । ‘यसका लागि हामी सक्षम छौं । उन्नत् जातको बिउ ल्याएर १६ टनको ठाउँमा ३२ टन आलु उत्पादन गर्न सकिन्छ’, संचालक पौडेलले भने ।

कम्पनीका व्यवस्थापक अनिष कुमार खड्काले नेपालका हरेक डिपार्टमेण्टल स्टोर तथा साना–ठूला सबै पसलमा उत्पादनहरु सरल र सुपथ मूल्यमा उपलब्ध गराउन आफूहरु लागि पर्ने बताए । आलु उत्पादनका लागि किसानलाई आवश्यक पर्ने प्राविधिक र उत्पादन पछिको बजारीकरणमा कम्पनीले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए

उद्योग सञ्चालनमा आएको दोस्रो वर्षसम्ममा २० हजार घरपरिवारलाई आलु खेतीमा लगाउने प्रालिको जनाएको छ । ‘२०८० पछि लुम्बिनी प्रदेशका ४० देखि ५० हजार परिवारले उद्योगकै लागि व्यवसायिक आलु खेती गर्नेछन्’, संचालक पौडेलले भने । जर्मनीको इमा कम्पनीको प्रविधिमा यहाँ आलु जन्य परिकारको उद्योगको प्लान्ट निर्माण भइरहेको हो ।