September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

लुम्बिनी विकास कोषको अनियमिततासम्बन्धी उजुरीमा छानविन सुरु

भैरहवा – लुम्बिनी विकास कोषविरुद्ध पूर्वाधार निर्माण, कर्मचारी नियुक्तिलगायतमा अनियमितता गरेको भन्दै दजर्न बढी मुद्दा छन् । कोषविरुद्ध अदालतमा मात्रै होइन्, राष्ट्रिय सतर्कता केन्द्रमै परेका छन् दर्जन मुद्दा ।

विकास कोषमा भएका विभिन्न आर्थिक अनियमितासम्बन्धी परेको उजुरी उपर सतर्कता केन्द्रले छानविन थालेको छ । कोषमा कर्मचारी नियुक्ति, पूर्वाधार निर्माणको टेण्डर, मायादेवी मन्दिर, सारस आरक्षण केन्द्र निर्माण, पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल लगायत निर्माणमा अनियमिता भएको र पदाधिकारी तथा कर्मचारीले त्यसबाट लाभ लिएको भन्दै उजुरी परेको थियो ।

यस्तै, कोषको माटो बिक्रीमा पनि हिनामिना भएको भन्दै उजुरी सतर्कता केन्द्रमा परेको छ । यससम्बन्धीमा केन्द्रले छानबिन सुरु गरेको हो । केन्द्रले कोषका पदाधिकारीहरुलाई कार्यालयमै झिकाई अनियमितताको आरोपमा परेका उजुरीमाथि छानबिन थालेको केन्द्रकी उपसचिव अमिता बज्राचार्यले बताइन् ।

आइतबार केन्द्रले विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र योजना प्रमुख सरोज भट्टराईलाई केन्द्रको कार्यालय सिंहदरबारमै बोलाएर छलफल र सोधपुछ गरेको थियो । छलफलमा केन्द्र प्रमुख दिनेशकुमार घिमिरे, सहसचिवद्वय प्रल्हादप्रसाद सापकोटा र ज्ञानराज सुवेदी, प्रहरी नायव महानिरीक्षक (डीआइजी) कमलप्रसाद अधिकारी, उपसचिव अमिता बज्राचार्य र शाखा अधिकृत हरिमाया पौडेल उपस्थित थिए ।

‘कोषबारे धेरै प्रश्न उठाएर यहाँ उजुरी परेका छन् । उठाइएका विषयवस्तुको सन्दर्भमा लिखित रुपमा राय प्रतिक्रिया माग गर्ने केन्द्रले निर्णय गरेको छ’, बज्राचार्यले भनिन्, ‘हामीले उजुरीसँग सम्बन्धित कागजपत्र १५ दिनभित्र केन्द्रमा उपलब्ध गराउनु पर्ने निर्णय पनि गरेका छौं ।’

विकास कोषले उजुरीसँग सम्बन्धित कागजात सतर्कता केन्द्रलाई उपलब्ध गराएपछि अनुसन्धान सुरु हुने छ । ‘अनुसन्धान प्रक्रिया अघि बढीसक्यो, आन्तरिक अनुसन्धान र उजुरी जाँचबुझ जारी छ । फाइलहरु आएपछि वास्तविकता खुल्ने छ’, उनले भनिन् ।

विकास कोषले बर्सेनि अर्बौका ठेक्का लगाउँदै आएको छ । तर, ती ठेक्कामा मिलेमतो गरेको आरोप लाग्दै आएको छ । केही महिना अघि कोषले आह्वान गरेको झण्डै चार अर्बको टेण्डरमा पनि विवाद भएको थियो । आफू अनुकुलका ठेकेदारलाई ठेक्का दिन चलखेल गरेर अनावश्यक मापदण्ड राखिएको भन्दै निर्माण व्यवसायी महासंघले नै त्यसको विरोध गरेको थियो ।

तर, कोषले आह्वान गरेको टेण्डर अदालतले सही भएको आदेश दिइसकेको छ । लुम्बिनी विकास कोष यस्ता दर्जनौं योजनामा विवादित हुँदै आएको छ । लुम्बिनी विश्व पर्यटन केन्द्रसमेत हो । तर, विकास कोष अनियमितताको आरोपमा पटकपटक विवादमा आउँदा लुम्बिनीका जानाकार चिन्तित बनेका छन् ।