October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

ग्रिन सिटीद्वारा बालगृहमा खाद्यान्न सहयोग

भैरहवा– लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले सिद्धार्थ बालगृहमा खाद्यान्न सामग्री सहयोग गरेको छ । मायादेवी गाउँपालिका–८ मा रहेको बालगृहमा बालबालिकालाई क्लबले खीरसमेत खुवाएको थियो ।

बालगृहलाई क्लबले ६० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । यस्तै, मायादेवी गाउँपालिकाले ग्रीन सिटीमार्फत बालगृहलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले बालगृहलाई आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।

उनले क्लबले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एडभाइजर ओमकुमार श्रेष्ठले लायनिजमको उद्देश्य ग्रीन सिटीले पुरा गरेको बताउँदै समाजसेवामा निरन्तरता दिन सुझाए ।

क्लब अध्यक्ष गोबिन्दप्रसाद गिरीले स्थानीय सरकारसंग सहकार्य गर्दै यस्ता सामाजिक काम र सहयोगलाई अघि बढाइने बताए । स्थापनादेखि सामाजिक कार्य गर्दै मानवीय सेवा ग्रीन सिटी लागेको उनले बताए । बालगृहका लागि जग्गा उपलब्ध भए भवन बनाउन यहाँका संघ–संस्थाहरुले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबमा आबद्ध महिला सदस्यहरुले बालगृहमा रहेका बालिकाहरुलाई मेहेन्दी समेत लगाइदिएका थिए । कार्यक्रम संयोजक निरज शाक्य, क्लब सचिव थानेश्वर पाण्डे (प्रकाश), गाउँपालिकाका ई.नवराज ढुंगाना, नेत्रप्रसाद आचार्य, शिवनाथ गुप्ता, पदम भण्डारी लगायतको सहशभागिता थिए ।