March 18, 2025, Tuesday
२०८१ चैत्र ५

मापदण्डबिहीन पसल, अस्वस्थकर माछामासु

बुटवल– बुटवल उपमहानगरपालिकाले बिहीबार बजार अनुगमनका क्रममा केही मासु पसलले मापदण्ड पूरा नगरेको पाएको छ । त्यसक्रममा स्वास्थ्यमा हानी पुर्याउने माछामासु विक्रिमा राखेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

नियमित बजार अनुगमन गर्नु पर्ने भए पनि स्थानीय तहले आक्कल–झुक्कल यस्ता अनुगमन गर्दै आएका छन् । यस क्रममा केही पसलमा कुहिएको मासु फेला परेको नगरपालिकाले जनाएको छ । त्यस्ता माछामासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समिति संयोजक तथा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

Advertisement

आचार्यको नेतृत्वमा पशु चिकित्सक, अधिकारकर्मी, उद्योगी, व्यवसायीक संघसंस्थाका प्रमुख सहभागी रहेको अनुगमन समितिले बिहीबार बिहान पसलको अनुगमन गरेको थियो । समिति संयोजक आचार्यका अनुसार यस्ता पसलमा कुहिएका माछामासु तथा मासुजन्य पदार्थ विक्रीका लागि राखिएको, पसलको सरसफाइ कमजोर रहेको, माछा, मासु र रगतजन्य पदाथ डल्लो पारेको अवस्थामा फेला परेको र त्यसलाई नष्ट गरिएको छ ।

उपमहानगर अन्तर्गतको पशुपन्छी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले ६ वटा पसलबाट ८० किलो बराबर कुहिएकोे माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । उनका अनुसार बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन भएको थियो ।

अनुगमनका क्रममा अधिकांशमा अस्वस्थकर र सडेका परिकार विक्री वितरण गर्ने गरेको पाइएको उपमहानगरको अनुगमन समितिले जानकारी दिएको छ । नेपालगन्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइन स्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।

नेपालगन्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाईन स्थीत भुड्कीचोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासू सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बेच्न राखेको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो । अनुगमन समितिका रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, मासु व्यवसायी संघका मोहन खत्री, नारायण जिसी, उपमहानगरका कर्मचारीहरु प्रकाशमणि बस्याल, नगरप्रहरी प्रमुख जयेश्वर पाण्डेको सहभागिता रहेको उपमहानगरले जनाएको छ ।