लुम्बिनी सांस्कृतिकमा तरकारी खेती नै नगरेकालाई अनुदान वितरण


भैरहवा– अनुदान रकम कस्ता किसानले पाउनु पर्ला ? हामीले सहजै अनुमान गर्छौ व्यवसायिक खेती गर्ने अथवा खेती गर्न चाहनेलाई । तर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने खेती नै नगरेकालाई अनुदान रकम बाँडेको पाइएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकमबाट करिब १ लाख ८० हजार रुपैयाँ गैरकिसानलाई बाँडिएको हो । यसको स्थानीयले विरोध गरेका छन् ।
नगरपालिकाको वडा नम्बर–२, लम्तिहवाका रामबकस लोध र अशोक लोध बाबुछोरा हुन् । उनीहरुको पेसा खेतीकिसानी भए पनि व्यवसायकि तरकारी खेती भने गर्दैनन् । तर, बाबुछोराले नै व्यवसायिक तरकारी खेती गरेको भन्दै २०–२० हजार रुपैयाँ अनुदान दिइएको छ ।
अनुदान दिँदा रामबकसले १० कठ्ठामा परबल खेती र अशोकले ६ कठ्ठामा परवल, काँक्रा, करेला र प्याजको व्यवसायिक खेती गरेको भनिएको छ । जबकी अंशबन्डा नभएर एउटै परिवारमा बस्दै आएकालाई एउटै लालपुर्जाबाट अनुदान दिन नपाइने कानूनी व्यवस्था छ । तर, उनीहरुले खेती त गरेका छैनन् नै एउटै परिवारका हुँदासमेत अनुदान रकम पाएका छन् ।
वडाध्यक्ष रमेशप्रसाद निषाद र कृषि शाखाका कर्मचारीको मिलेमतोमा नगरपालिकाको वडानम्बर दुईमा मात्रै ८ जना गैरकिसानलाई व्यवसायिक तरकारी खेती गरेको भन्दै अनुदान रकम दिइएको स्थानीयको आरोप छ । ‘जसले एक कठ्ठामा पनि खेती गर्दैन, एउटै परिवारमा बस्छ, कसरी अनुदान पाए ?’, स्थानीय मनोज मल्लाहले भने, ‘अनुदानको नाममा गैरकिसानलाई रकम बाँडेर यहाँ भ्रष्टाचार गरिएको छ ।’

कोरोना विशेष कृषि कार्यक्रम अन्तर्गत एक स्थानीय तह एक उत्पादन कार्यक्रममार्फत् लुम्बिनी प्रदेश सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई १७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । मापदण्डमा कम्तिमा तीन कठ्ठामा तरकारी खेती गर्ने किसानलाई २० हजार रुपैयाँका दरले अनुदान दिने प्रावधान राखिएको छ । जसअनुसार नगरपालिकाले २०७७ चैत १२ मा सूचना प्रकाशित गरी अनुदान माग गरेका ६९ जना किसानलाई अनुदान रकम बाँडेको थियो ।
तर, मिलेमतोमा खेती नै नगरेका, पार्टी कार्यकर्ता र एउटै घरका दुई–दुई जनासम्मलाई अनुदान रकम बाँडिएको छ । स्थानीयले ३० वर्ष पहिला मृत्यु भएका मानिसको नाममासमेत वडाध्यक्षको सिफारिसमा अनुदान रकम निकासा भएको आरोप लगाएका छन् ।
‘मेरो बुवाको ३० वर्ष पहिला मृत्यु भएको हो । हजुर बुवाको एक सय वर्ष पहिला मृत्यु भएको थियो । तर, वडाध्यक्षले मेरो बुवा र हजुर बुवाको नाममा पनि अनुदानका लागि सिफारिस गर्नुभएको छ’, भरथापुरका स्थानीय राजु मल्लाहले भने, ‘कसरी सिफारिस भयो ? पैसा निकालेकी निकालेनन् मलाई थाहा छैन । तर सिफारिस गर्नु नै गलत हो ।’

वडानम्बर दुई लम्तिहवाका ३० वर्ष अघि नै मृत्यु भएका मोती मल्लाहको नाममा पनि तरकारी खेती गरेको भन्दै अनुदान रकम निकासा भएको स्थानीयको आरोप छ । खेती नै नगरेका वडा नम्बर दुईकै भरथापुरका गोविन्द मल्लाह, अशोक कुमार अहिर यादव, दिनानाथ मल्लाहले पनि अनुदान रकम पाएका छन् ।
यस्तै, भरथापुरककै दाजुभाई भदई मल्लाह र साधु सरन मल्लाहले पनि २०–२० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । जबकी उनीहरुमध्ये भदईले मात्रै तरकारी खेती गर्छन् । तर, यहाँ तरकारी खेती गरेको भन्दै भाई साधु सरनलाई पनि अनुदान रकम दिइएको छ । वडा कार्यालयले भने अनुदानको रकम दुरुपयोग नभएको दावी गर्छ ।
वडाध्यक्ष रमेशप्रसाद निषादले भने, ‘हामीले वडाबाट व्यवसायिक खेती गर्ने किसानलाई मात्रै अनुदानका लागि सिफारिस गरेका छौं, उहाँहरुले मात्रै अनुदान बुझ्नु भएको छ । अन्य विषयमा मलाई थाहा छैन ।’, उनले मृत्यु भएकाको नाममा आफूले अनुदानका लागि सिफारिस नगरेको दावी गरे ।
भरथापुर र लम्तिहवा जिल्लामै पिछडिएका गाउँमध्ये पर्छन् । यहाँका अधिकांश स्थानीयको रोजीरोटी खेतीकिसान र व्यवसायिक तरकारी खेतीबाट चल्दै आएको छ । तर, त्यही किसानका लागि भनेर आएको रकम पहुँचका आधारमा मिलेमतोमा गैरकिसानलाई बाँड्दा वास्तविक खेती गर्ने किसान भने निरास छन् । स्थानीयले अनुदान रकममा मनमौजी गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

यता लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने केही ठाउँमा दुरुपयोग गरिएको भन्दै यथार्थ बुझेर अनियमित गर्नेलाई कारबाही गरिने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफूलाई पनि अनुदान रकम बाँड्दा गैरकिसानलाई दिइएको भन्ने जानकारी आएको बताउँदै त्यस्तालाई कारबाही गर्ने जनाए ।
उनले भने, ‘किन गैरकिसान र मृत्यु भएका व्यक्तिको नाममा पनि अनुदान दिइयो र सिफारिस गरियो भन्नेबारे हामी यथार्थ बुझ्छौं, गल्ती गर्ने कानूनी दायरामा आउँछन् ।’ उनले एउटै पुर्जाबाट एकै परिवारका दुई जनाले पनि अनुदान लिन नपाउने बताए । नगर प्रमुख मनमोहन चौधरीले अनुदानमा भएको घोटलाबारे आफू पनि जानकार रहेको बताउँदै कृषि शाखालाई यथार्थ विवरण पेस गर्न निर्देश्न दिइसकेको बताए । ‘सबै रिपोर्ट मैले हेरेपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ’, उनले भने ।


लेखकको सम्वन्धमा