कोभिड प्रभावित र बाढीपीडितलाई राहत
तिलोत्तमा– धादिङ पुगेर कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् ।
हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमाका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।
राहत वितरणको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र समाजसेवी बाबुराम पाठकले बिदाइ गरेका थिए । हाम्रो अभियानका संयोजक सुनिल पाठक र विष्णु खरेल पीडित परिवारलाई राहत प्रदान गर्न धादिङ पुगेका थिए ।
तिलोत्तमा–१ का वडाध्यक्ष पाण्डेले युवाहरुले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे । अभियानको नेतृत्व गरेका सुनिल पाठकले प्रभावितको पीडामा आफूहरुले थोरै भए पनि मलम लगाउने काम गरेको बताए ।
‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं’, उनले भने । उनले हाम्रो अभियान अप्ठेरोमा परेका परिवारहरुको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।
‘महामारीबाट र बाढी पहिरोबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा हाम्रो संगठन पीडितहरुकै साथमा छ’, उनले भने । समाजसेवी पाठकले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर संगठनले रचनात्मक काम गरेको बताए ।
प्रतिकृया दिनुहोस्