April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

तिलोत्तमामा हरित पुनःउत्थान परियोजना सुरु

तिलोत्तमा– फोहोरमैला व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पीजीआरपी) शुरु भएको छ । नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लिमिटेडको आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो ।

Advertisement

फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

Advertisement

यसको लागि घर, उद्योग, व्यवसाय तथा संघ–संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

परियोजना अन्तर्गत् बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यवसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको श्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।

रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने छ । परियोजनामा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २६० जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् । यस्तै नगरपालिका भित्रका २६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ ।

आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ । परियोजना अन्तर्गत् यूएनडीपीले तिलोत्तमा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्याउने जनाइएको छ ।

परियोजनाले हरित पुनःस्थापनामा फोहोरमैला व्यवस्थापनको महत्व दर्शाउनुको साथै फोहोर व्यवस्थापनमा पनि प्रशस्त आर्थिक अवसरहरू सिर्जना हुन सक्छन् भन्ने उदाहरणको प्रस्तुत गर्ने नगर प्रमुख घिमिरेको भनाइ छ ।

‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराको साथ अगाडि बढिरहेको तिलोत्तमामा यस परियोजनाले अझ प्रभावकारी रुपमा फोहोर व्यवस्थापनको काम गर्ने उनको विश्वास छ ।

नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई परियोजना मार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पुर्याउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको फोहरमैला व्यवस्थापनको एकीकृत योजना बन्ने र ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको लक्ष्य हासिल गर्न टेवा पुग्ने विश्वास प्रकट गरे । तिलोत्तमा नेपालको पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका हो ।