January 23, 2025, Thursday
२०८१ माघ १०

पाँच पुस्तादेखि फलफूल स्याहार्दै

भैरहवा– नयाँ पुस्ताको पुख्र्यौली पेसाप्रति कुनै आकर्षण पाइँदैन । उनीहरु शिक्षा हासिल गरेपछि विभिन्न रोजगारीमा आकर्षित हुन्छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–८, डोलहीस्थित एक परिवार अपवाद बनेको छ । उक्त परिवार पाँच दशकदेखि विभिन्न प्रजातीका फलफूल खेतीलाई निरन्तरता दिँदै आएको छ । परिवारका हजुर बुवादेखि नातीसम्म दिनरात फलफूल स्याहर्नै व्यस्त भेटिन्छन् ।

खेतीपातीको नेतृत्व ७९ वर्षीय राजमन भरले गरिरहेका छन् । उमेर ढल्किए पनि उनको जोस युवाको जस्तै छ । यी बृद्ध रातदिन फलफूलका बिरुवाको स्याहार–सुसारमा खटिन्छन् । बगैंचामा भर्खरै रोपेका फलफ्लका बिरुवासँगै पाँच दशक पुराना रुख छन् । भरका अनुसार उनको परिवारले ५० वर्षदेखि फलफूल खेति गरिरहेको छ । उनीहरुले अहिले चार विघा आफ्नो र ११ विघा जमिन भाडामा लिएर बिरुवा हुर्काइरहेका छन् ।

Advertisement

बगैँचामा बाजेदेखि नातीसम्म खटिएर काम गर्छन् । सिजन अनुसारका फलफूल विक्री गरेर वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको भरले बताए । अहिले बारीमा लटरम्म आँप र कटहर फलेका छन् । बीचमा विभिन्न प्रजातीका तरकारी खेती गरिएका छन् ।

‘मेरो बुवाको पालादेखि आँप खेती गर्दै आएका हौं,’ राजमनले भने, ‘अहिले नातीले पनि यही व्यावसाय अगाडि बढाइरहेका छन् ।’ अहिले उनको परिवारका सात जना यसमै निर्भर छन् । फलफूलका बिरुवाले बस्ती ढाकेका छन् । धेरै आँपका बिरुवा भए पनि १३ विघामा आँप, १ विघामा लिची र अमला, १ विघामा अम्बा, कागती र कटहर खेती गर्दै आएका छन् ।

आँपका मात्रै १५–२० प्रजाति हुर्काएको राजमनका छोरा प्रमोद भरले बताए । ‘म अहिले अर्कै रोजगारीमा छुं,’ प्रमोदले भने, ‘घर आएका बेला बुवालाई काममा सघाउँछु । अवकाश प्राप्त गरेपछि म पनि फलफुल खेतीमै लाग्छु ।’

सामान्य तरकारी र फलफूल खेतीमा नाममा सरकारी अनुदान लिने परम्परा बढे पनि भर परिवारले कुनै सुविधा नलिएको बताए । ‘अनुदान पाइन्छ भन्ने पनि थाहा भएन,’ राजमनले भने, ‘आफ्नै बलबुतामा खेती गरिरहेका छौं ।’

फलफूल खेती गर्दा आम्दानीसँगै वातावरण स्वच्छ राख्न पनि सहयोग पुग्छ । अर्कातर्फ विभिन्न प्रकारका पाकेका फलहरुबाट मानिसहरुलाई स्वास्थ्यका लागि नभई नहुने कार्बोहाइड्रेट, प्रोटिन, बोसो, खनिजपदार्थ र भिटामिन लगायत तत्वहरु पाइन्छन् । यस्ता तत्वले आँखाको दृष्टि क्षमता बढाउने, दाँत बलियो बनाउनुका साथै शरीर बृद्धिमासमेत सहयोग पुग्छ । त्यसैले निमियत फलफूल खाने बानी विकाससँगै यसको खेतीमा पनि ध्यान दिनु पर्ने कृषि विज्ञको भनाई छ ।