August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यसहित हिलपार्कमा एक अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ ।

बुटवल उपमहानगरपालिकाले प्रदेश र संघ सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि बढाएको हो । बुद्धमूर्ति पार्कको विस्तृत परियोजना प्रतिवेदनअनुसार बुटवलबाट ४० किमि दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाउने योजना छ । यसका लागि कुल एक अर्ब १४ करोड ३४ लाख ३१ हजार पाँच सय ६३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिनेछ । बुटवल बजार नजिक रहेको हिलपार्क डाँडामा बन्ने मूर्ति ४० किमि टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिनेछ । यसका लागि उपमहानगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्न सूचना जारी गरेको छ ।

पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ छ । पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ छ ।

यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन् । जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँे छ । बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रुपमा हुने पुजाआजा, ध्यान तथा मेडिटेशनको साथै अवलोकनका लागि आउने आगन्तुकहरुसमेत गरी दैनिक रुपमा करिब तीन हजार भन्दा धेरै मानिसहरुको आवतजावत हुने उपमहानगरको अपेक्षा छ ।

लामो समयदेखि अवधारणाको रूपमा रहेको ‘बिग बुद्धमूर्ति’ निर्माण प्रक्रिया अघि बढेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । बुटवल उपमहानगरको पहिलो नगरसभाले बनाएको पाँच बर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । डीपीआरलाई नगरसभाले स्वीकृत गरिसकेको उपमहानगरले जनाएको छ ।

नगर प्रमुख सुबेदीका अनुसार संघीय र प्रदेश सरकारको लगानीको स्रोत सुनिश्चितता भने इआईए सकिएपछि हुनेछ । इआईए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेसँगै जग्गा प्राप्ती र स्रोत सुनिश्चितताका कामहरु हुने नगर प्रमुख सुवेदीले बताए ।

डीपीआरअनुसार पहिलो ब्लकमा बुद्धमूर्ति बन्नेछ । ७.८ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइनेछ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका हुनेछन् । मूर्तिको सतह ३ मिलिमिटर मोटाइ रहेको तामाले बनाइनेछ ।

अनुहारमा सुनको जलप लगाइनेछ । बाँकी शरीरमा सुनौलो ‘इपोक्सी’ रंग लगाइनेछ । बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ । ‘बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरुप हिलपार्कमा विग बुद्धपार्क बनाउन लागिएको हो’, नगर प्रमुख सुवेदीले भने ।