March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तीन सहकारी मर्ज, पुँजी ३७ करोड २१ लाख

भैरहवा– सहकारीहरुले मनोमानी गरेको आरोप लागिरहेका बेला रुपन्देहीमा तीन सहकारी मर्ज भएका छन् । बुटवलका तीन वटा सहकारी मर्जर भएका छन् । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको एकता बचत तथा ऋण सहकारी संस्था, बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल–८ कै प्रतिक बचत तथा ऋण सहकारी संस्था र बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल–११ मा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था आपसमा मर्जर भएका हुन् ।

Advertisement

स–सानो बचत उठाउने र संचालकहरु आफूखुशी भ्रमणमा जाने, बचत रकमबाट अनधिकृत भत्ता वितरण र कतिपयमा आफन्तलाई विना धितो ऋण प्रवाह गर्ने क्रम चलेको छ । यसले गर्दा थोरै रकम जम्मा गर्ने कयौन् नागरिकको बचत जोखिममा छ । यस्तो अवस्थामा पनि यहाँका तीन सहकारीले संस्थालाई थप बलियो बनाउने भन्दै मर्ज भएका हुन् । जसले गर्दा बचतकर्ता खुशी छन् ।

Advertisement

तीन वटा सहकारी मर्जरपछि बनेको सहकारीको नाम ‘एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ हुनेछ । साबिक एकताको शेयर सदस्य १ हजार २५२ जना, बिशालको शेयर सदस्य ३९३ जना र प्रतिकको शेयर सदस्य संख्या २८५ गरि बनेको एकता बचत तथा ऋण सहकारीमा अव शेयर सदस्य संख्या सरदर १ हजार ९ सय हुनेछ ।

त्यस्तै एकताको शेयर पुँजी ३ करोड २७ लाख १० हजार ५ सय, बिशालको शेयर पुँजी ६१ लाख २० हजार र प्रतिकको शेयर पुँजी २६ लाख १० हजार गरी एकीकृत सहकारीको शेयर पुँजी ४ करोड १४ लाख ४० हजार ५ सय पुगेको छ । एकीकृत सहकारीको कुल पुँजी ३७ करोड २१ लाख ६ हजार ४५२ रुपैंया पुगेको साबिक एकताका अध्यक्ष समेत रहेका एकीकृत एकताका अध्यक्ष सुक्रप्रसाद बस्यालले जानकारी दिए ।

आगामी साउन १ गतेदेखि संयुक्त कारोवार गर्नेगरी मर्जर गरिएको सहकारीको बुधबार बुटवलमा संयुक्त साधारण सभा गरिएको छ । संयुक्त साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थीले सहकारीका ऐन, नियम तथा कानुनहरुको बारेमा जानकारी गराइन् ।

उनले लुम्बिनी प्रदेशमा पनि सहकारी संख्या धेरै भएको बताउँदै संख्यात्मक रुपमा धेरै भन्दा पनि गुणत्मक रुपमा राम्रो बनाउनको लागि मर्जर आवश्यक रहेको भनाई राखे । उनले भने, ‘तपाईंहरुले सहकारीका मूल्य मान्यतामा अडिग रहेर गतिबिधि सञ्चालन गर्न आग्रह गर्छु ।’

एकीकृत एकता सहकारीका अध्यक्ष बस्यालले शेयर सदस्यहरुको सहभागिता र सञ्चालकहरुको गतिशिलताले सहकारीलाई उचाईमा पुर्याउन सकिने बताउँदै सोही अनुसार शेयर सदस्य र सञ्चालकहरुलाई सहयोग गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालले शेयर सदस्यहरुको बचतलाई सुरक्षित लगानी कसरी गर्न सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिन आग्रह गरे । वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले सहकारीलाई गुणात्मक रुपमा राम्रो बनाउने विकल्प मर्जर नै भए पनि मर्जर बाध्यकारी नभई प्रेरणादायी हुनुपर्ने बताए ।

कार्यक्रममा मर्जर कार्यदलका संयोजक दिपक पन्थी, साविक बिशालका अध्यक्ष निमानन्द गैरे, साविक प्रतिकका अध्यक्ष ठाकुरप्रसाद ज्ञवाली, एकताका पूर्व अध्यक्ष साबित्रा टण्डन, सल्लाहकार नवराज श्रेष्ठ, मर्जर समिति सदस्य माधवप्रसाद भुसाल, सचिव विष्णुप्रसाद पौडेलले तीन वटै सहकारीको उद्देश्य र कार्यक्षेत्र समेत एउटै भएको र भावना समेत मिलेकाले मर्जर गरिएको बताउँदै एकीकृत एकतामा अपनत्व ग्रहण गर्न शेयर सदस्यहरुलाई आग्रह गरे ।