April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

मृगौला पीडितको उपचारमा लायन्स ग्रिन सिटीको सहयोग

भैरहवा– लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृगौला पीडित प्रवीण परियारलाई आर्थिक सहयोग गरेको छ । सिद्धार्थनगर–९, भाग्यपथमा कोठा भाडामा लिई परिवारसहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौला फेल भएको थियो ।

Advertisement

क्लबले परियारको उपचारमा ५१ हजार रुपैयाँ सहयोग गरेको हो । मृगौलाले काम गर्न छाडेपछि उनले आफूसँग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउँदा समेत अहिलेसम्म निको भएको छैन । परियारलाई यतिबेला मृगौलाको डायालासिस र औषधि खरिद गर्न पनि हम्मे–हम्मे परेपछि लायन ईरफान वारिसको सक्रियता तथा संयोजनमा ग्रिन सिटीले आफ्ना सदस्यहरुले दिएको सहयोग रकम संकलन गरि सोमबार हस्तान्तरण गरेको हो ।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ ३२५ बिटुका द्वितीय उपगभर्नर पिएमजिफ नबराज न्यौपानेले मानवीय सेवामा लायन्सहरुको भिडमा ग्रिन सिटीको काम उल्लेखनीय रहेको बताए ।

स्थानीय बासिन्दा समेत रहेका लायन्स क्लब अफ ३२५ बिटुका उपसचिव विजय पान्डेले मानवीय सेवाभावले ओतप्रेत भएका सदस्यहरुको सहभागिता रहेको लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले आर्थिक समस्याको कारण उपचार गराउन कठिनाई ब्यहोरिरहेका प्रविणको घरमै पुगि सहयोग गर्नु उदाहरणीय कर्म भएको बताए ।

वर्ष २०२१–०२२ का अध्यक्ष गोबिन्दप्रसाद गिरीले लायन्स सामूहिक भावले संचालित हुने हुँदा ग्रिन सिटीले यश बर्ष समाजका लागि संगसंगै भन्ने थिम राखेको बताए । अध्यक्ष गिरीले क्लबले गत बर्ष क्यानसर पीडित मनोज गिरीलाई सहयोग गरि ६६ जना संस्थापकसहित स्थापना भएको बताउँदै यश बर्षको पहिलो कार्यक्रम पनि आर्थिक अभाबको कारण मृगौला उपचारमा समस्या परेको परियारलाई सहयोग गर्दै शुरुवात गरिएको बताए ।

सो अवसरमा आफ्नो बैबाहिक बर्षगाठको अवसरमा सुरज भन्डारी र शिरा रेग्मी भन्डारी दम्पत्तिले ५ हजार १ सय सहयोग समेत गरेका थिए । यसैगरि नवराज भन्डारीले जन्मदिनको अवसरमा पनि सहयोग गरेका थिए ।