April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

खुम्चियो अटो व्यवसाय

भैरहवा- पछिल्लो समय अटो बजार खुम्चिँदै गएको छ । खरिदविक्री न्यून हुँदै जाँदा अटो बजार खुम्चिएको हो । रूपन्देही र आसपासका क्षेत्रमा विगतभन्दा न्यून रुपमा गाडी खरिदविक्री हुने गरेको छ । अटो बजारमा कारोबार न्यून भएपछि आयात गरिएका गाडी पनि भन्सार परिसरमै थन्किएका छन् ।

Advertisement

सहज अवस्थामा भैरहवामा रहेको बुद्धम् अटोमार्टले प्रतिमहिना ६ वटा टाटा कम्पनीका गाडी विक्री गथ्र्यो । अहिले विक्री ठप्प छ । गाडी खरिदका लागि आउने ग्राहक छैनन् । ‘५० प्रतिशत पनि विक्री छैन, यस्तै अवस्था रहीरह्यो सबै अटो व्यवसायी धरासायी बन्छन्’, बुद्धम् अटोमार्ट, भैरहवाका प्रबन्ध निर्देशक अभिनव मयूर कसौधनले भने ।

Advertisement

बुद्धम्को जस्तो अवस्था अहिले सबै अटो व्यवसायीको छ । कोरोना महामारीको दोस्रो लहर सुरुपछि अटो व्यवसाय तहसनहस बनेको व्यवसायी बताउँछन् । बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाई गरेका छन् । खरिदकर्तालाई ५० प्रतिशतसम्म कर्जा दिँदै आएका बैंकहरुले अहिले कर्जा दिन पनि हिच्किच्याएका छन् ।

‘अन्य व्यवसायजस्तै अटोमा सरकारबाट व्यवसायीले सुविधा पाएका छैनन् । बैंकको कडाइ उस्तै छ । असहज अवस्थामा बैंकले कर्जा बढी दिएमा सहज हुने थियो तर पूरानै अवस्थाअनुसार गरिरहेका छन्’, कसौधनले भने, ‘जसले गर्दा हामी थप मर्कामा छौं ।’

महामारी र बैंकको कडाईले पनि अटो बजारमा झनपछि झन गिरावट आएको छ । कारोबार ह्वात्तै घटेपछि करोडौं लगानी गरेका रुपन्देहीका व्यवसायी चिन्तित छन् । ‘दुई पांग्रेको कर्जामा त राष्ट्र बैंकले नै कडाई गरिरहेको छ । स्थिति झनपछि झन असहज बन्दै गएको छ’, स्याकार टे«डिङ कम्पनी भैरहवाका प्रबन्धक रामचन्द्र पाण्डेले भने, ‘एक–डेढ वर्षदेखि लगातार मारमा अटो व्यवसायी छन्, यस्तोबेला सहजीकरण हुनुपर्ने हो, तर भएको छैन ।’

महामारीले सबै क्षेत्र ठप्प हुँदा आम नागरिकको पनि क्रय शक्ति घटेको छ । कयौंको रोजगारी गुमेको छ । आयस्रोत खुम्चिँदा उपभोक्ता सुविधा खोज्नबाट विमुख हुँदै गएका छन् । अटो बजारमा सिथिलता आउँदा व्यवसायीले भन्सारसम्म ल्याएका गाडी पनि भन्सार पास गराउन सकेका छैनन् ।

महिनौंदेखि भन्सार पार्किङमै गाडी थन्किएका छन् । वर्षा याममा लामो समय गाडी खुल्ला आकाशमुनी राख्नुपर्दा खिया लाग्ने, विग्रिने समस्या हुन थालेको छ । जसले गर्दा व्यवसायीले थप क्षति व्यहोरीरहेका छन् ।

‘राजश्व तिर्ने पैसा नभएकै कारण महिनौंसम्म गाडी भन्सार पास नगरिएको हो’, कसौधनले भने । आयात गरेर भन्सार विन्दुमा गाडी ल्याइसकेपछि त्यसको दुई महिनाभित्र व्यवसायीले जाँचपास गरी गाडी सम्बन्धित ठाउँमा लैजानुपर्छ । तर, विक्री घट्दा भैरहवा भन्सार परिसरमा पाँच–छ महिनासम्म अतिरिक्त पैसा तिरेर व्यवसायीले पार्किङमै गाडी राख्दै आएका छन् ।

भन्सारमा राखिएका गाडी व्यवसायीले समयमै नलैजाँदा भन्सार राजश्व असुलीमा समस्या भएको छ भने पार्किङ अभाव पनि उस्तै छ । ‘समयमै राजश्व नतिरी पार्किङमै राखेका गाडी छिटो लैजान हामीले ताकेता गरेका छौं तर व्यवसायीले अझै लगेका छैनन्’, भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले भने, ‘जसले गर्दा हामीलाई पार्किङ व्यवस्थापनमा समस्या भएको छ ।’

लामो समय पार्किङमा राखिएका गाडी जैजान कतिपय व्यवसायिक कम्पनीहरुलाई पत्र काटेर ताकेता गरेको पासवानले बताए । ‘पटक–पटक पत्र काट्दा पनि राजश्व तिरेर पार्किङबाट गाडी नलगेमा जफत हुने व्यवस्था छ । अन्य भन्सार कार्यालयमा जफत भएका छन् । हाम्रो चाहना त्यस्तो अवस्था नआओस् भन्ने हो । त्यसैले समयमै व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने ।

भन्सार कार्यालयकाअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १८ अर्ब ९८ करोड ५३ लाख २१ हजार मूल्यका सवारी बेलहिया नाकाबाट आयात भएको छ । आयात गरिएका गाडीबाट १८ अर्ब ६० करोड ३८ लाख ९९ हजार राजश्व संकलन भएको छ । रुपन्देहीमा दुईपांग्रे, चारपांग्रे तथा टेम्पो र ठूला सवारी गरी ४ दर्जन बढी अटोमोबाल्सका सोरुमहरु संचालित छन् ।