आज दही-चिउरा खाएर धान दिवस मनाइँदै
भैरहवा- आज असार पन्ध्र । राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सव । देशभर दिवशको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछन् । १७ वर्ष अघि वि.सं. २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाइँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।
यस्तै, दिवसमा खेतमा काम गरि दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
यता प्रत्येक वर्ष मौसम प्रतिकूल बन्दै जाँदा, युवा जनशक्ति पलायन, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु, सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदान नहुनु जस्ता कारणले उत्पादन भने खासै बढ्न सकेका छैन भने धान तथा चामल आयात झनपछि झन बढ्दो छ ।
दिवश सुरु हुनु अघि बेलहिया नाकाबाट वार्षिक ३÷४ अर्बको मात्रै आयात हुँदै आएको धान–चामल पछिल्ला वर्षहरुमा १३ अर्बभन्दा माथि पुगेको छ । यस वर्ष मौसमले साथ दिँदा किसानले ब्याड सहजै राख्न पाए, तर रोपाइँ रणमा पुगेको छ । वर्षाका कारण गत वर्षको तुलानामा यस वर्ष दोब्बर रोपाइँ भएको छ ।
जिल्लाको उत्तरीभागमा सबैभन्दा बढी रोपाईं भएको छ । बढी धान फल्ने क्षेत्र रोहिणीको धकधई, मर्चवार, लुम्बिनीलगायत दक्षिण र पश्चिम क्षेत्रमा पनि रोपाईं अन्तिमतिर पुगेको छ । असार पन्ध्रलाई रोपाई सकेर दही चिउरा खाने दिन पनि भनिन्छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
प्रतिकृया दिनुहोस्