उद्योग नविकरण व्यवस्था मिलाउन माग


बुटवल– कोभिड–१९ प्रभाव र विभिन्न कारण नविकरण रोकिएका उद्योगहरुलाई तत्काल नविकरण गर्न पाउने व्यवस्था मिलाउन रुपन्देही उद्योग संघले माग गरेको छ ।
बुधबार संघले लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि रोकिएको उद्योगको नविकरण सुचारु गर्न आग्रह गरेको हो ।
‘उद्योग नविकरण गर्न नपाउँदा उद्योगीहरुले बैंक कर्जा नविकरण, सिफारिस, उत्पादन वितरण लगायतका विभिन्न खालका समस्याहरु झेल्नु परेको र उद्योगहरु संचालनमा समेत कठिनाई सिर्जना भएको छ’, संघले मन्त्री पाण्डेलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको पदाधिकारी टोलीले ज्ञापन पत्र बुझाउँदै विगत लामो समयदेखि उद्योग नविकरण हुन नसक्दा उद्योगीहरु निराश बनेको बताउँदै तत्काल उद्योग नविरण गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
अध्यक्ष बोहोराले बिगतमा उद्योगको नविकरण सुचारु गर्न पटक–पटक आग्रह गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । सो अवसरमा उद्योग मन्त्री पाण्डेले उद्योगहरु नविकरण गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउन प्रदेश सरकारले ऐन संशोधन गर्ने तयारीमा रहेको र उद्योगहरुको माग जायज भएका कारण तत्काल सम्बोधन हुने गरी कानूनी व्यवस्था मिलाउने प्रतिवद्धता ब्यक्त गरिन् ।
मन्त्री पाण्डेले प्रदेशको औद्योगिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्वरोजगारी अभिवृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने समेत प्रतिवद्धता जनाइन् ।
संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारी लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्