October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना धरौटीमा रिहा

नेपालगंज– बाँकेको भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि कुटपिटको आरोप लागेका तीन जनालाई जनही २५ हजार धरौटीमा छाडिएको छ ।

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले स्वास्थ्यकर्मी कुटपिट गरेको आभियोगमा थुनामा रहेका दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५/२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो । उनीहरु तीनै जनाले धरौटी रकम बुझाएर आइतबार छुटेका छन् ।

मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत हुन् । जिल्ला अदालतका स्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको बताए ।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरुले उपचारमा लापरबाही गरेको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरुमाथि रावत परिवार कुटपिट तथा तोडफोड उत्रिएका थिए ।

घटनाको चौतर्फी आलोचना भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । यस्तै, अस्पतालका डाक्टर र नर्सहरु आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरु तीन जनालाई पक्राउ गरी थुनामा राखेको थियो ।