October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

घर बहाल र व्यवसाय कर छुट गर्न संघको सुझाव

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नीति, कार्यक्रम तथा बजेटमा सम्बोधनको लागि बुटवल उपमहानगरपालिकालाई सुझाव दिएको छ । संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, उद्योग उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य सुरज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई भेटेर लिखित रुपमा सुझाव दिएको हो ।

संघको ६७ औं वार्षिक साधारण सभामा प्रारित प्रस्तावका आधारमा स्थानीय कर, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य, स्थानीय आर्थिक बिकास लगायत समसायिक विषयमा सुझाव दिईएको संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले जानकारी गराए ।

संघले स्थानीय करका सम्बन्धमा स्थानीय तहले लिँदै आएको बहाल कर आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र बुझाउने व्यवस्था मिलाउन, बुटवल उपमहानगर क्षेत्र भित्र निजी स्वामित्वमा रहेको जग्गामा वा लिजमा लिई स्थापना हुने उद्योगहरुमा न्यूनतम ५ वर्ष सम्म बहाल कर र व्यवसाय कर छुटको व्यबस्था मिलाउन र कोभिड १९ ले व्यवसायीक क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राख्दै व्यवसायीक करमा छुट प्रदान गर्ने व्यवस्थाको लागि नगरपालिकालाई आग्रह गरेको छ ।

त्यस्तै पर्यटन तर्फ बुटवल तथा सेरोफेरोमा रहेका पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धनको लागि पर्यटन सूचना केन्द्रको स्थापना तथा त्यसमा निजी क्षेत्रको तर्फबाट बुटवल उद्योग बाणिज्य संघलाई सहभागि गराउन आग्रह गरिएको छ । बुटवललाई पर्यटनको गन्तव्यको रुपमा विकासको लागि पर्यटकीय वस्तुको विकास गर्ने, पर्यटकीय दृष्टीकोणबाट महत्वपूर्ण क्षेत्रहरुको क्रमश विकास गर्दै जाने ठोस नीति बनाउन तथा यस क्षेत्रको पर्यटन विकासको लागि प्रादेशिक कार्यालयको हैसियतमा नेपाल पर्यटन बोर्डको कार्यालय बुटवलमा स्थापना गर्नको लागि आग्रह गरिएको छ ।

कृषितर्फ बुटवल स्थित थोक फलफुल तथा तरकारी बजार केन्द्रलाई शितभण्डार सहितको तरकारी तथा फलफूलको थोक मण्डीको रुपमा रुपान्तरण गर्न, तिनाउ र दानव नदी छुट्टिएको स्थाललाई ड्याम बनाई जलाशय निर्माण गरी सुख्खा याममा खेतीयोग्य जमिनलाई सिंचाईको व्यवस्थापन मिलाउन सम्बन्धित निकायमा आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य तर्फ बुटवल भित्र रहेका विभिन्न अस्पताल तथा क्लिनीकहरुबाट उत्पादन हुने औषधीजन्य फोहोरमैला व्यवस्थापन गर्न थ्रीपीको अवधारण अनुरुप बुटवल उद्योग वाणिज्य संघ समेतको सहकार्यमा कार्यक्रम अगाडि बढाउन र बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक बिश्व बिद्यालयको रुपमा विकास गर्न आग्रह गरिएको छ ।

त्यस्तै स्थानीय आर्थिक बिकासका सन्बन्धमा बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि मोतीपुर लगायत अन्य औधोगिक क्षेत्र विकास तथा संचालनको लागि अपनत्व लिई यथाशिघ्र कार्य अघि बढाउन र उक्त औधोगिक क्षेत्रमा शिक्षा, मजदुर स्वास्थ्य तथा सामाजिक सम्बन्धका लागि निजी क्षेत्रलाई करिब १० बिगाहा जग्गा उपलब्ध गराउन आग्रह गरिएको छ ।

बुटवलको समष्टिगत समाबेशी आर्थिक विकासको लागि प्राथमिकताका क्षेत्र औधोगिक विकास, व्यापार, पर्यटन, कृषि, यातायात आदीलाई आवधिक रणनीतिक योजना समाबेश गरी सोही अनुसारको कार्यक्रम तथा नीति मार्फत प्रवद्र्धन गर्न अनुरोध गरिएको छ । बुटवलको पहिचान बोकेको अटो भिलेज क्षेत्र बाहेकका वडा नं. १ र २ मा निश्चित अवधिको लागि आयकर तथा व्यवसाय कर छुट दिई सेवा र कुटिर उद्योगहरुको स्थापना गरी सो क्षेत्रलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्न माग गरिएको छ ।

दैवीप्रकोपबाट तत्कालिन राहतका लागि आम बुटवलबासीले नगर बजार क्षेत्र भित्र खुला पार्क क्षेत्रको अभाव महशुस गरिरहेको र त्यसको परिपूर्तिको लागि लुम्बिनी प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालदेखी उत्तरतर्फ रहेको स्थानलाई खुला पार्कको रुपमा विस्तार गर्न माग गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले बिगत सञ्चालन गर्दै आएको नवउद्यमशाला कार्यक्रमलाई संस्थागत गर्दै नियमित संचालनको लागि उद्यमशिलता कोष उपलब्ध गराउन आग्रह गरिएको छ ।

त्यस्तैगरी संघले बुटवल–वेलहिया व्यवसायिक मार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ८, ९, ६, ३ र ४ सडक अन्तर्गतको सर्भिसलेनलाई १९ फुटबाट २७ फुट कायम गराउन पहल गर्न, सिद्धार्थ राजमार्गको ८२ फुट बिस्तार गर्ने क्रममा पसल तथा घर भत्काउंदा धेरै नोक्सानी व्यहोर्नु परेको तथा व्यवसाय पुनः संचालन गर्न सडक पुर्ण रुपले निमार्ण नहुंदासम्म व्यवसायहरु अवरोध हुने हुदां सो अबधीसम्म बुटवल उपमहानगरपालिकाले लिने व्यवसाय कर पुर्ण रुपले छुट हुनुपर्ने, कोभिड–१९ को प्रभावको आधारमा व्यवसायीक करका साथै वहाल करमा छुट गर्न, अर्थतन्त्रको अग्रपंतीमा रही कार्य गर्ने उद्योगी, व्यवसायी, श्रमिक तथा कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोपको यथाशिघ्र व्यवस्था गर्न समेत माग संघले गरेको छ ।

साना व्यवसायीहरुलाई पुनः व्यवसाय शुरुवातका लागि संस्थाको जमानीमा सहुलियतपुर्ण ऋण व्यवसाय प्रवद्र्धन कोषबाट प्रदान गर्ने व्यवस्थाको मिलाउन, एकिकृत शहरीकरणको परियोजना सहित रोहिणी देखी तिनाउ नदी बीचको भागमा हालको सिद्धार्थ राजमार्गको समानन्तर हुने गरी नयाँ राजमार्गको परिकल्पना गरि योजना निमार्ण गर्न आग्रह गरिएको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र खानेपानीको समस्या विकराल बन्दै गईरहेकोले त्यसको अन्त्य गरी शुद्ध, सहज, स्थायी तथा भरपर्दो खानेपानी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

बुटवलको नीति तथा कार्यक्रम र बजेटमा पार्कीङ् समस्या समाधान हुनेगरी व्यबस्था मिलाउन, चोरी, लुटपाटलाई रोकी शान्ति सुरक्षा कायम गर्नका शहरी क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने व्यवस्थापन मिलाउन, सार्वजनिक स्थानहरुमा मोवाइल शौचालयको व्यवस्थापन मिलाउन समेत ध्यानाकर्षण गराईएको बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।