June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

युवा लक्षित बजेट ल्याउन युवा संघ सिद्धार्थनगरको माग

भैरहवा– युवा संघ नेपाल, सिद्धार्थनगर नगर कमिटीले युवालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सिद्धार्थनगर नगरपालिकालाई सुझाव दिएको छ । युवा संघ अध्यक्ष प्रकाश श्रेष्ठलगायतका नेताहरुले आइतबार नगर प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हुन् ।

Advertisement

ज्ञापन पत्रमा भनिएको छ, ‘नगरपालिकाले विगतका वर्षहरुमा युवा सरोकारका विषयहरुलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको कुरामा हाम्रो तर्फबाट धन्यावाद दिन चाहन्छौ । यस आर्थिक वर्षमा पनि कोभिडका कारण युवा आर्थिक, सामाजिक, मनोबैज्ञानिक तवरमा नै प्रताडित र संकटापन्न भएका कारण युवा लक्षित विशेष कार्यक्रमको थप आवश्यकता रहेको स्मरण गराउँदै नगरपालिकाले आगामी वार्षिक नीति तथा कार्यक्रममा पनि यस्ता विषयवस्तु समेट्नु होला ।’

नगर अध्यक्ष श्रेष्ठले नेपाल सरकारले हाल कोभिडविरुद्धको खोप कार्यक्रममा युवाहरुलाई वेवास्ता गरेकाले आर्थिक रुपमा सक्रिय रहनुपर्ने युवाहरुका लागि नगरपालिकाले आफ्नै खोप नीति तर्जुमा गरी युवा लक्षित खोप योजना तयार गरी खोप कार्यक्रम सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्न आग्रह गरिएको बताए ।

यस्तै, ज्ञापनपत्रमा युवा स्वरोजगारका क्षेत्रमा नीतिगत रुपमा सम्बोधन गर्न आग्रह गरिएको छ । सिटिइभिटीसँगको सहकार्यमा एडभान्स वायरिङ तथा प्लम्बिङो तालिम सञ्चालन, निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुने आधुनिक तथा हेभि इक्वीपमेन्ट मर्मत सम्बन्धी तालिम सञ्चालन गर्न, आधुनिक विद्युतीय सामग्रीका रुपमा प्रयोगमा आइरहेका एसी, माइक्रोओभन, इण्डक्सन चुलो, रेफ्रिजेरेशन लगायतका विद्युतीय सामग्रीको मर्मत सम्बन्धीतालिम सञ्चालन गर्न युवा संघले नगरपालिकासँग माग गरेको छ ।
कृषिको व्यवासयिक उत्पादनका प्रक्रिया र पद्दतिको तालिमका साथै व्यवसाय सञ्चालनका लागि बीउ, पुँजीको व्यवस्थापनसहित कृषिमा उत्पादनका आधारमा अनुदानको नीतिगत व्यवस्था नगरलाई सुझाव दिइएको युवा नेता सार्दुल मयूर कसौधनले बताए ।

यसैगरी संघले युवा लक्षित कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आफ्नै नगरस्तरीय युवा परिषद्को गठन तथा सञ्चालनको नीतिगत व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । ‘वर्तमान शिक्षा प्रणालीले व्यवहारिक शिक्षा नदिएका कारण सिर्जित शैक्षिक बेरोजगारीको समस्या समाधानका लागि लेखा, व्यवस्थापन, बजारीकरण, स्टार्टअप विजनेशको स्थापना लगायतका तालिमको व्यवस्थालाई नीतिगत तवरमा सम्बोधन गर्न आग्रह गरेका छौं’, कसौधनले भने ।

आम युवाहरुको स्वास्थ्य सरोकारका लागि प्रयोगका रुपमा नै भए पनि खुला व्यायाम शालाको स्थापना गर्न, युवाहरुको मानसिक स्वास्थ्यका लागि आवश्यक ध्यान तथा योग केन्द्रको स्थापना, मनोरञ्जन पार्कको स्थापना र सञ्चालन, खेलमैदानको व्यवस्थापन गर्न ज्ञापनपत्र मार्फत् आग्रह गरिएको छ । यस्तै, निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने प्राविधिक तथा अन्य खालका सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रकृतिका तालिमको व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यको नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ ।

नगरपालिकाबाट सञ्चालन हुने खेलकुदजन्य कार्यक्रमहरु स्थानीय युवाहरुको सक्रियतामा स्थापना भएका क्लबहरु मार्फत् मात्र सञ्चालन गर्ने नीतिगत व्यवस्था मिलाउन र युवाहरुका संलग्नतामा चलिरहेका सामाजिक संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुलाई नगरपालिकाले अपनत्व प्रदान गर्ने नीतिगत व्यवस्था मिलाउन युवा संघले नगरपालिकालाई आग्रह गरेको छ ।

यस्तो छ ज्ञापनपत्र