October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

अवैध काठ ओसारपसार गर्ने चार पक्राउ

दाङ– निषेधाज्ञाको मौका छापेर अवैध सालको काठ ओसार पसारमा संलग्न चार जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

गढवा गाउँपालिका–५, कक्रहवाबाट अवैध ४५.४९ क्यूफिट सालको काठसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक राजकुमार भट्टको नेतृत्वमा खटिएको १० जनाको विशेष टोलीले कोइलावासबाट गढवा आउँदै गरेको भे१ च १८२१ नम्बरको बोलेरो पिकअप भ्यानबाट २६ थान सालको काठसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गाडी चालक रोल्पा रुण्टिगढी गाउँपालिका–२ निवासी २१ वर्षका महेश पुन, सोही ठाउँका २८ वर्षीय बसन्त क्षेत्री, २२ वर्षीय बिनोद पुन र २८ वर्षीय सुशील घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चार जनलाई प्रहरीले थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाएको छ । लुम्बिनी प्रदेशका दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा पछिल्लो समय निषेधात्राको मौका छोपी काठ तस्करी भइरहेको छ । केही दिन अघि रुपन्देहीमा पनि माठ तस्करीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।