बजेटबारे सिद्धार्थनगरमा सुझाव संकलन


भैरहवा- आगामी आर्थिक वर्ष २०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारीबारे सिद्धार्थनगर नगरपालिकाले यहाँका राजनीतिक दल तथा अगुवाहरुसँग सुझाव संकलन गरेको छ ।
उनीहरुले सिद्धार्थनगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि गाडीको चाप पनि बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा पनि जोड दिनु पर्नेमा सहभागीको सुझाव छ ।
पूर्वमन्त्री हकिकुल्लाह खांले समाज शिक्षित नभै विकास नहुने बताउँदै शिक्षा र स्वास्थ्यमा जोड दिनु पर्ने बताए । भीम अस्पतालका अध्यक्ष नारायणप्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु पर्ने बताए । नमुना एकीकृत विकास परिषद् अध्यक्ष ज्ञानु पौडेलले आमा सुरक्षा स्वास्थ्य कार्यक्रममा जोड दिइन् ।
उनले भनिन्, ‘सशक्तिकरणका कार्यक्रम संचालन गर्दै सहकारीको वित्तीय साक्षरता एवं नगरपालिका प्रविधिमैत्री बनाउनुपर्छ ।’ जनता समाजवादी पार्टीका नगर अध्यक्ष अर्जुन जयसवालले हाटबजारमा व्यवसाय गर्ने साना व्यवसायीको विस्थापन हुनु दुखद भएको बताए । यस्तै, उनले नगरका विभिन्न वडा र टोलमा बाटो, ढलको समस्या समाधानमा लाग्न नगरपालिकालाई सुझाव दिए । गल्लामण्डीका विच बाटोमै विजुली पोल भएकोले हटाउनुपर्ने पनि उनले बताए ।
सुझाव संकलन कार्यक्रममा उद्योगी नारायणप्रसाद अग्रवालले भैरहवामै ध्यान केन्द्र बनाएर संचालन गर्नुपर्ने सुझाए । कार्यक्रममा स्थानीय कर तथा व्यवसाय कर र घर वहाल कर सम्बन्धी स्ष्पट नीति बनाउन गोविन्द प्रसाद रेगमीले सुझाव दिए । माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले महिला तथा बालबालिका र जेष्ठ नागरिकका बारेमा नीतिमा स्पष्ट दिशा निर्देश गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता दीपक क्षेत्री न्यौपानेले अन्तर्राष्ट्रिय सिटी सरहको नगर बनाउन भिजन र मिसनमा लाग्न सुझाव दिए । नेकपा एमालेका नेता भरत पोखरेलले नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षामा जोड दिनुपर्ने बताए । महिला स्वास्थ्य स्वंयमसेविका तथा वडा न.५ का प्रतिनिधि पुनम जयसवालले स्वंयमसेविकाका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाको पूर्वतर्फ बाटो साँघुरो भएकाले पर्खाल हटाउनु पर्ने बताइन् ।
एमाले नेता चोपलाल आचार्यले टोल विकास समितिलाई सक्रीय बनाउनु पर्नेमा जोड दिए । भौतिक विकास भन्दा सामाजिक विकासमा जोड दिनुपर्नेमा मनोज रिजालले जोड दिए । राप्रपाका नगर अध्यक्ष इ.चन्द्रभक्त श्रेष्ठले योजनाबद्ध काम गर्न सुझाव दिए ।
उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले राय सुझाव दिन सभा समारोह नै पर्खनु नपर्ने बताउँदै सकारात्मक साेंचका साथ व्यक्तिगत रुपमा पनि जहिले पनि सुझाव दिन सकिने बताए । नगरलाई सौन्र्दयकरणका लागि खाली जग्गामा माटो पुरेर सुन्दर बनाउन सकिने शर्माले सुझाए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले निम्नवर्गका व्यक्तिको जीवनस्तर नउठेसम्म विकास नहुने बताए । संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नगरको क्षेत्र विस्तार गरेर विकासमा फड्को मार्न सकिने बताए । सहकारी विज्ञ चन्द्रकान्त भट्राइले नगरमा निःशुल्क कोराना परीक्षण गराउने व्यवस्था गर्न आग्रह गरे । उनले नगरमा रहेका ५० वटा सहकारीको अनुगमन निरीक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रा.डा.गितु गिरीले भाषा, साहित्य, कलासंस्कृतिको संरक्षण संबद्र्धनमा पनि जोड दिन आग्रह गरे । माओवादी नेता फैज अहमद खांनले सडकका चोकमा जेव्रा क्रसिंगको व्यवस्था नहुंदा दुर्घटना बढेको बताए । उनले बुद्धचोकमा ट्राफिकलाइटको व्यवस्था गर्नुपर्नेमा सुझाव दिए । कार्यक्रमा जीवलाल अर्याल, मिलन बस्नेत लगायतले पनि बोलेका थिए ।
नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले छलफलमा आएका सुझावहरु संकलन गरी यसलाई कार्यान्वयनको चरणमा लैजाने जानकारी दिए । आगामी ७ गते नीति तथा कार्यक्रम तथा असार १० गते बजेट पारित गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्