उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीको जोखिम कम गर्नका लागि उद्योगी–व्यबसायी र मजदुरहरुलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
संघले बुधबार एक आग्रह पत्र जारी गरी कोरोना महामारीको संक्रमण फैलिन दिनकोलागि सरकारले गरेको निषेधाज्ञाका बिच पनि उद्योगी व्यबसायीले निर्वाध रुपमा उत्पादन तथा आपूर्तिको काम गरिरहेको भन्दै जोखिमका बिचमा पनि काम गर्ने उद्योगी व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन माग गरेको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा हस्ताक्षरित आग्रह पत्रमा भनिएको छ, ‘कोभिड १९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, यातायात लगायत अन्य क्षेत्रमा ज्यालादारी गर्ने श्रमिक, कर्मचारी, उद्योगी व्यवसायीको आयमा गम्भिर प्रभावको कारण गरिवीमा बृद्धि समेतको आंकलन गरिएको छ, अर्को तर्फ लामो बन्दको कारण बैंक ब्याज, घरभाडा, कर, राजश्व, कर्मचारी खर्च आदीको भुक्तानी गर्नुपर्ने दवावका कारण उद्योगी, व्यवसायीहरु अत्यन्तै मर्कामा परेका छन् ।’
संकटको घडीमा निजी क्षेत्रले आपुर्ती व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निमार्ण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्दै संघको तर्फबाट यसको निरन्तरताको लागि पनि उद्योगी व्यबसायी र मजदुरलाई कोपमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराईएको हो ।
उद्योगी व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि उद्योगी व्यबसायी र मजदुरलाई खोपको प्राथमिकतामा राख्नुपर्ने भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप कार्यक्रम संचालन गरेपनि खोपको उपलब्धता र उपलब्ध भएको खोपको समेत प्रभावकारी वितरण हुन नसकेको औंल्याउँदै खोप केन्द्रको फितलो व्यबस्थापन, प्राथमिकता तोकिए भन्दा बाहेककालाई पनि नातावाद, कृपावाद अनुरुप खोप दिईनुले सरकारी निकायले विश्वास गुमाउनुको साथै आम नागरिकमा नैरास्यता उत्पन्न गराएको उल्लेख गरिएको छ ।
जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको स्मरण गराउँदै नेपाली नागरिकको जीवन रक्षाको लागि यथाशक्य चाँडो आम नेपालीलाई खोपको व्यबस्था गर्न समेत माग गरिएको छ ।


प्रतिकृया दिनुहोस्