July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

सुदूरपश्चिम सरकारको ३० अर्ब ३३ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ।

Advertisement

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कम बजेट प्रस्तुत गरेका हुन्।

Advertisement

प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार बजेट विनियोजन गरिएको छ।

यसैगरी अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ १ अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरिएको उल्लेख छ।

आगामी वर्षको बजेटमा पनि प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ।