January 13, 2025, Monday
२०८१ माघ १

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो।

Advertisement

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत र पूँजिगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.३ प्रतिशत अर्थात १० करोडको बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारको तर्फबाट प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिने छ। त्यस्तै कम भएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिने छ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। स्थानीय तहहरुको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै प्रदेश सरकारले बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरेको छ।

यसका साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालीको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ। यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमहरुलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, औषधी लगायत खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशमा मिर्गौलाका बिरामीको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउनका लागि ३५ वटा डायलसिस मेशिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको छ।

प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपाल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरुवात गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरिएको हो। कम पर्न जाने रकम आन्तरिक ऋणबाट व्यवस्था गरिने बजेटमा उल्लेख छ।

प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम शुरुवात गर्नका लागि ८ करोड, मझौला सिंचाई कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि ६८ करोड विनियोजन गरिएको छ।

प्रदेश सरकारले प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालयको विकास तथा विद्यालयहरुको भौतिक संरचना सुधार गर्नका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको हो।

विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका ललागि बजेट छुट्याइएको छ। यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ।

आदिवासी, दलित, जनजाती, मधेश आन्दोलनमा शहिद भएको परिवारको छात्रवृतिका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै सो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको हो।

रामराजा सिंह, गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि ४ करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो।

त्यस्तै प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको हो।

त्यस्तै सञ्चार क्षेत्रको संस्थागत विकासका लागि मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण एवं चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

लागु औषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै स्थानीय तहको सहकार्यमा लागुऔषध दुर्व्यसन पुनःस्थापना केन्द्र स्थापनाको लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।