July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

३२ अर्ब ४६ करोडको बजेट ल्यायो प्रदेश १ सरकारले

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

Advertisement

प्रदेश सभा भवनमा मंगलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेटले कोभिड महामारीबाट प्रदेशबासीको जीवन रक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, निर्माणाधीन अधुरा विकास निर्माणमा तीव्रता लगायतलाई प्राथमिकतामा राखेको जानकारी दिए।

Advertisement

प्रदेशको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत विनियोजन गरेको जानकारी दिए।

त्यसैगरि, पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात ४६ दशमलव ३ प्रतिशत रकम विनियोजन गरिएको उनले बताए।

स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरिएको आर्थिक मामिला मन्त्री आङ्बुहाङले जानकारी दिए।

यसक्रममा प्रदेश सरकारले उल्लेखित खर्चको स्रोतका लागि आन्तरिकतर्फबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटतर्फबाट ९ अर्ब ८१ करोड ६६ लाख रुपैयाँको उपलब्ध हुने अनुमान गरेको छ।

त्यसैगरि सरकारले संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख, र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड ७९ लाख खर्च ब्यहोर्ने जनाएको छ।

सरकारले बाँकी अपुग रकम नगद मौज्दात २ अर्ब तथा वैदेशिक अनुदानबाट २६ करोड १३ व्यहोर्ने जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये वैशाखसम्ममा सो बजेटको ४० प्रतिशत रकम खर्च भइसकेको सरकारले जनाएको छ।

त्यसैगरि, आर्थिक वर्षको अन्त्यभित्र बाँकी ६० प्रतिशत रकम खर्च हुने सरकारले अनुमान गरेको छ।