संगठनले खुवायो २५ सयलाई निःशुल्क खाना


भैरहवा– होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीले ८ दिनमा दुई हजार ५ सय ५० जनालाई निःशुल्क खाना वितरण गरेको छ । जेठ २४ देखि जेठ ३१ गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण कार्यक्रममा उक्त अनुपातमा खाना वितरण गरिएको संगठनका अध्यक्ष गणेश प्रसाद बेल्बासेले जानकारी दिए ।
कोरोना महामारीको विषम परिस्थितिमा बिरामी तथा बिरामी कुरुवालाई मध्यनजर गर्दै संगठनले खाना वितरण गरेको थियो । दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएपछि उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा आएका बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाइएको बेल्बासेले बताए ।
संगठनले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाना तथा पानी समेत वितरण थियो । यसअघि समयसमयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बेल्बासेले जनाए । संगठनले वार्षिक कार्ययोजना अन्तर्गत असार दोस्रो साता युसीएमएसमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बेल्बासेले जानकारी दिए ।
संगठनले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने उद्योगी व्यवसायी तथा समाजसेवीहरुलाई उनले धन्यवाद ज्ञापन गरे । कार्यक्रम संयोजक तथा संगठनका उपाध्यक्ष लिलाधर भट्टराईले विषम परिस्थितिमा सधैं आफूहरु समाज सेवा तल्लीन हुँदै आएको जनाए । नियमित खाना वितरण कार्यक्रमले व्यवसायीहरु एकढिक्का भएको समेत उनले जनाए । संगठनले सोमबारदेखि खाना वितरण कार्यक्रमको समापन गरेको सह–कोषाध्यक्ष नरेन्द्र खनालले बताए ।
प्रतिकृया दिनुहोस्