January 23, 2025, Thursday
२०८१ माघ १०

रूपन्देहीमा काठ तस्करीमा संलग्न चारसहित टिपर प्रहरी नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा प्रहरीले अवैध काठसहित एउटा टिपर र तस्करीमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले देवदह नगरपालिका–१०, चरङ्गेबाट लु२ ख ४५०१ नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान तस्करी भएको काठसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

Advertisement

प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, बुटवलका रोहित घले, रुपन्देही देवदह चरङ्गेका प्रेमबहादुर थापा र पाल्पाका गंगाबहादुर बुढा छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरले अवैधरुपमा काठ तस्करी गर्दैगर्दा चारै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

राठौंरका अनुसार टिपरमा ४० पिस सालका गोलिया अर्थात् १ सय ४२ क्युफिट काठ थियो । काठ, टिपर र त्यसमा संलग्न चारजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय, रुपन्देहीमा पठाइएको छ । बरामद् गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको रहेको राठौंरले जनाए ।