ढुवानीमा असमान प्रावधानले व्यवसायी पीडित
भैरहवा– गत वर्षको लकडाउनका बेला खाद्यान्न, औषधि जस्ता अत्यावश्यक बस्तु बाहेक अन्य बस्तुको ढुवानीका साधन संचालनमा रोक लगाइयो । उद्योगदेखि ३०–३५ किमी दुरी भित्रै खानी संचालन गरि आफै क्लिंकर तयार पारी सिमेन्ट उत्पादन गर्ने नेपालका सिमेन्ट उद्योगले पनि चुनढुंगाको ढुवानी गर्न पाएनन् ।
औद्योगिक कच्चा पदार्थ र अन्य व्यापारिक सामान लिएर नेपाल भित्रिएका भारतीय गाडी भने नेपालमा निर्बाध रुपमा संचालन हुन पाए । लकडाउनको बेलामा चुनढुंगाको ढुवानी प्रक्रियामा सरकारले सहजीकरण गर्न नसक्दा सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादनमा आत्मनिर्भर बनिसकेको नेपाल फेरि परनिर्भर हुन बाध्य भयो । सिमेन्ट उत्पादन गर्न क्लिंकरको आयातका लागि अर्बौ रुपैयाँ बिदेशियो ।
यसपल्ट निषेधाज्ञामा पनि अवस्था उस्तै देखिएको छ । आफ्नै खानीबाट संकलित चुनढुंगा उद्योगसम्म ढुवानी गर्न टिप्पर संचालनमा रोक लगाइएपछि रुपन्देहीका दर्जनौं सिमेन्ट उद्योगी फेरि समस्यामा परेका छन् । तर, रुपन्देही हँुदै अन्य जिल्लामा संचालित समान खालका उद्योगका लागि रुपन्देही हुँदै ढुवानी गर्नमा भने कुनै समस्या छैन । कुनै ठाउँमा ढुवानी गर्न अनुमती दिने र कतै नदिने स्थानीय प्रशासनको नियमले व्यवसायी बीचमैं बिभेद गरेको अनुभूति व्यवसायीले गरेका छन् ।
यस्तै, खालको पीडा रुपन्देहीमा संचालित रोडा–ढुंगा व्यवसायीको पनि छ । रुपन्देही बाहेकका अन्य जिल्लामा संचालित क्रसरबाट उत्पादित निर्माण सामाग्री रुपन्देहीमा भित्रिने गरेका छन् । तर, रुपन्देहीका क्रसर उद्योगले न अफ्नो उत्पादन जिल्ला भित्रै बिक्रीका लागि ढुवानी गर्न पाएका छन् । नत नजिकैकको खानीबाट आफ्नो कच्चा पदार्थ उद्योगसम्म ल्याउन नै पाएका छन् ।
‘गत वर्षको परिणामलाई विश्लेषण गरेर ढुवानीमा सहजिकरण गरिनु पर्नेमा अहिले पनि पहिलाकै पुनराबृत्ति भयो’, अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेश अग्रवालले भने, ‘अघिल्लो लकडाउनको वेला चुनढुंगाको ढुवानीमा सरकारले सहजिकरण गरेको भए यतिबेला स्वदेशी सिमेन्ट उद्योग विदेश निर्यात गर्ने तयारीको अवस्थामा पुग्ने थिए ।’
नेपालमा हाल उत्पादन हुने सिमेन्टका लागि आवश्यक पर्ने भन्दा ३० प्रतिशत धेरै क्लिंकर उत्पादन गर्ने क्षमता स्वदेशी क्लिंकर उद्योगसँग रहेको र सिमेन्टको उत्पादन धेरै हुन थालेकाले विदेश निर्यातको बिकल्प नरहेको अग्रवालले बताए । उनका अनुसार, गत वर्ष लकडाउनका बेलामा खानीबाट चुनढुंगा ढुवानी गर्न नपाउँदा ७ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको ७ लाख ६४ हजार मेट्रिक टन क्लिंकर भारतबाट आयात गर्नु परेको थियो ।
भैरहवा भन्सार कार्यालयको तथ्याकं अनुसार, आव २०७५/०७६ को असोज अघिसम्म भैरहवा नाकाबाट २ अर्व ३२ करोड रुपैयाँ मूल्यको २ लाख ९७ हजार ८ सय ३ मेट्रिक टन क्लिंकर भारतबाट आयात भएको थियो । ०७६ असोज महिनादेखि आयात बन्द भएको थियो । पहिलो चरणको लकडाउनपछि २०७७ जेठ महिनादेखि आयात सुरु भएको थियो । ५२ करोड भन्दा धेरैको ५८ हजार ४ सय २५ मेट्रिक टन क्लिंकर आयात भएको थियो । लकडाउन खुकुलो भएर खानी संचालन र ढुवानी हुन थालेसँगै गत कात्तिक मध्यतिरबाट आयात रोकिएको छ ।
व्यवसायीले भने अर्को चरणको कोभिड संक्रमणले ढुवानीमा रोक लाग्न सक्ने आँकलन पहिल्यै गरेर खानीबाट धेरै परिमाणमा चुनढुंगाको ढुवानी गराएका थिए । ‘अहिलेसम्म पहिला ढुवानी गरिएको चुनढुंगाबाट क्लिंकरको उत्पादन गर्दै आएका छौं’, अग्रवालले भने, ‘हाल उद्योग परिसरमा रहेको संकलित चुनढुंगा कहिलेसम्मलाई पुग्छ ? भन्ने एकीन छैन ।’
भारतबाट क्लिकंरको आयात गरिँदा सबैभन्दा नजिक भनेको सिमानादेखि करिव १ हजार किमी दुरीको मध्य प्रदेश र १ हजार ४ सय किमी परको राजस्थान हो । क्लिंकरसहितको सिमेन्ट उत्पादन गर्ने उद्योगको चुरे क्षेत्रको पहाडमा खानी संचालन छ । जुन वर्षा र हिलोको कारण बाटो अवरुद्ध हुनाले असारदेखि कात्तिकसम्म ढुवानी गर्न सकिँदैन । पाँच महिनासम्मका लागि आवश्यक चुनढुंगा जेठ महिना भित्रै ढुवानी गरेर संकलन गर्नु पर्ने हुन्छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले अहिलेको निषेधाज्ञाका बेला पाल्पा जिल्लामा रहेका खानीबाट चुनढुंगाको ढुवानी गर्न अन्य जिल्लाका सिमेन्ट उद्योगले पाए पनि रुपन्देहीका सिमेन्ट उद्योग बञ्चित हुनु परेको बताए । ‘स्थानीय प्रशासनको यो नियमले सिमेन्ट र क्रसर व्यवसायी बिचमैं बिभेद गरेको छ’, श्रेष्ठले भने, ‘मैले बैठकमा पटक–पटक यसबारेमा कुरा राख्दा प्रशासनिक निकायबाट कुनै जवाफ दिइएन । यस खालको प्रशासनिक नियमले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको छ ।’
श्रेष्ठका अनुसार, पाल्पाको खानीबाट चुनढुंगा लोड गरिएका टिप्पर सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पूर्व र पश्चिमतर्फ जानमा कुनै रोक लगाइएको छैन । तर, भैरहवातर्फ ढुवानी गर्नमा भने रोक लगाइएको छ । अर्घाखाँची र रोल्पादेखि चुनढुंगा लोड गरिएका टिप्पर रुपन्देही हुँदै नवलपरासी र हेटौँडामा रहेका सिमेन्ट उद्योगमा पुगेका छन् । तर, यही सुबिधा भैरहवा र रुपन्देहीमा रहेका उद्योगले पाएका छैनन् ।
स्वदेशमा संचालित कुल ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटा उद्योग आफ्नै खानीमा आधारित रहेर क्लिंकरसहितको सिमेन्ट उत्पादन गर्छन् । जसमध्ये, १४ वटा रोटरी प्रबिधिमा रहेर धेरै परिमाणको क्लिंकर उत्पादन गरि अन्य उद्योगलाई क्लिंकर उपलब्ध गराउने गरेकाले नेपाल क्लिंकरको आयात रोकिएर क्लिंकरमा आत्मनिर्भर बन्न पुगेको हो ।
भैरहवा क्षेत्रमा एक दर्जन सिमेन्ट उद्योग संचालनमा छ । नेपालमा उत्पादन हुने कुल सिमेन्ट उत्पादनमा ४० प्रतिशत हिस्सा भैरहवा क्षेत्रको छ । पूर्वी र पश्चिम नवलपरासी, कपिलबस्तु र दाङ जिल्लादेखि क्रसरबाट उत्पादित गिट्टी, वालुवा जस्ता नदीजन्य पदार्थको दैनिक सयौं टिप्पर रुपन्देहीमा निर्बाध रुपमा आइरहेको छ । तर, रुपन्देहीमैं संचालित क्रसर उद्योगले भने आफ्नो उत्पादन अनुकुल माग गरिएको समयमा उपलब्ध गराउनबाट बञ्चित छन् ।
रोडा–ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले धेरै पछि प्रशासनको यस खालको ढुवानी व्यवस्थाले रुपन्देहीका ३० वटा क्रसर व्यवसायी प्रताडित हुनु परेको बताए । उनका अनुसार, स्थानीय प्रशासनले ढुवानीका लागि उपलब्ध गराएको साँझ ६ देखि बिहान ३ बजेसम्मको समयमा उद्योग परिसर आसपास रहेका स्थानीयले हल्ला हुने भन्दै लोड गर्न र ढुवानी गर्न दिँदैनन् ।
‘हाम्रा उद्योगमा करोडौं मूल्यका उत्पादित सामाग्री भएर पनि आफू अनुकुल बिक्री गर्न पाइएको छैन’, ज्ञवालीले भने, ‘जवकी, अन्य जिल्लाका माल सहजै ढुवानी भएर हाम्रै आँखा अगाडि बिक्री हुँदै आएको छ ।’ उनले यस खालको नीतिले व्यवसायी बीच बिभेद गरेको बताए ।
पश्मिाञ्चल सिमेन्ट उत्पादक संघका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक बिदुर ढुंगानाले क्लिंकर उत्पादन गर्ने उद्योगले अहिलेसम्म पहिल्यै ढुवानी भएको चुनढुंगाबाट क्लिकंरको उत्पादन भैरहेको र यही अवस्था रहेमा क्लिंकरको आयात फेरि पनि गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।
ढुंगानाका अनुसार, गत वर्षको लकडाउनको बेला ढुवानी गर्न रोक लगाउनाले उत्पन्न समस्याका वारेमा व्यवसायीले धेरै पटक प्रदेश योजना आयोगसहित प्रदेश सरकार समक्ष कुरा राखेका थिए । त्यतीवेला समयमै खवर वा जानकारी नभएकाले सहजिकरणका लागि व्यवस्थापन गर्न नसकिएको जवाफ व्यवसायीलाई दिइएको थियो । यसपाली व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर ढुवानीमा सहजिकरण गरिदिन समयमैं अनुरोध गरेका थिए ।
‘जति अनुरोध गरे पनि न कुनै सहजिकरण भयो नत पहल नै’, ढुंगानाले भने, ‘गिट्टी, वालुवाको ढुवानीमा पनि सहजिकरण नहुँदा हुन गएको अभावले सिधै सिमेन्टको बिक्रीमा असर पारेको छ । निर्माण कार्य अवरुद्ध हुँदा माग घटेकाले सिमेन्ट उत्पादन २५ प्रतिशतमा झरेको छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महेन्द्र राजमार्गबाट हुने ढुवानी कुनै रोक नलगाइएको र रुपन्देहीका सिमेन्ट उद्योगका लागि चुनढुंगाको ढुवानीमा आएको समस्याका बारेमा आफू समक्ष कुनै जानकारी नआएको बताए । ‘सम्बन्धित क्षेत्रबाट माग आएमा सहजिकरणका लागि म तयार छु’, तामाङले भने ।
प्रतिकृया दिनुहोस्