March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रूपन्देहीमा मुलुककै पहिलो अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे भर्चुअल शिलान्यास

भैरहवा– रुपन्देहीमा अक्सिजन प्लान्ट निर्माण सुरु भएको छ । जिल्लाको सिमरहवामा प्लान्ट निर्माण सुरु भएको हो । मुलुककै पहिलो लिक्विड अक्सिजन प्लान्ट बनेपछि प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने बताइएको छ ।

Advertisement

सरकारी अधिकारीका अनुसार यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने छ । सिमरहवामा उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

Advertisement

प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । शिलान्यासपछि प्रधानमन्त्रीले कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुशी भएको जनाए । कोभिडबाट सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए ।

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उनको भनाइ थियो । अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गरे । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी अग्रवालको प्रयास सह्रानीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताए । यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावक विहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी पनि दिए ।

‘यसबारे अध्ययन हँदैछ र त्यस अनुसार आवश्यक कदम चालिनेछ’, उनले भने । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिए । आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए ।

अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई पनि प्रधानमन्त्रीको थियो । छिमेकी देशका आवश्यकता र औद्योगिक करणका लागि पनि अक्सिजनको खपत बढने समेत प्रधानमन्त्रीले उल्लेख गरे ।