January 25, 2025, Saturday
२०८१ माघ १३

विदेशमा बस्ने स्थानीयले युवाले गरे रोहिणीलाई सहयोग

भैरहवा– वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाहरुले रोहिणी गाउँपालिकालाई नगद सहयोग गरेका छन् । रोहिणी र देवदह नगरपालिकाका युवाले पालिकालाई सहयोग गरेका हुन् ।

दक्षिण कोरियामा रहेका ९ जना युवाहरुले रोहिणी अध्यक्ष सनोज कुमार यादवको सम्बोधन गर्दै सहयोग रकम पठाएका हुन् । युवाहरुले १ लाख ४३ हजार २ सय ५४ रुपैयाँ गाउँपालिकाको खातामा पठाएको अध्यक्ष यादवले बताए ।

Advertisement

सहयोग गर्नेमा रोहिणी–३ घर भएका ताणकेश्वर मल्लाह, रमेश मल्लाह, असफाक खाँन, धरमेन्द्र मल्लाह, वडा नम्बर २ का सन्तोष यादव, सुखराम खरविन्द, दिलीप प्रजापति, वडा नम्बर ५ का सुभान अन्सारी र देवदह नगरपालिकाका बीरु मल्लाह छन् ।

‘विपदको बेला रोहिणीलाई अन्य संघसंस्था एवम् सामाजिक ब्यक्तित्वहरुले सहयोग गरेका छन् । तर बिदेश बस्ने यी युवाहरुकोे सहयोग अत्यन्तै सराहनीय छ’, यादवले भने । बिदेशमा पसिना बगाएका युवाहरुले आफ्नो पसिनाको कमाइबाट मातृभूमिलाई सम्झिनु नै ठूलो कुरा भएको उनले बताए ।

कोरोना महामारीको समयमा बिदेशिएका युवाहरुको सहयोगी मनलाई रोहिणीले सदैव सम्मान गर्ने उनले बताए । बिभिन्न सञ्चार माध्यमहरुबाट गाउँपालिकामा पनि कोभिडको प्रभाव उच्च रहेको र अक्सिजन लगायत अभाव भएको थाहा पाएर थोरै भए पनि सहयोग गरेको युवा ताणकेश्वर मल्लाहको बताए ।