July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लमहीमा सवारी तोडफोड गर्ने दुईजना पक्राउ

लमही– दाङमा पार्किङ गरेर राखेका सवारीसाधन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

Advertisement

सिसीटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ५, रातोडाँडा निवासी २६ वर्षीय रोषण भेट्वाल र लमही नगरपालिका वडा नं. ६, देउपुर निवासी २७ वर्षीय सुदन केसी छन् ।

Advertisement

पक्राउ परेका दुबैजनाले आफूहरुले गाडीमा तोडफोड गरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रहरी निरीक्षक राजन पौडेलले बताए । ‘प्रारम्भिक प्रमाणका आधारमा व्यक्तिको पहिचान भएपछि घरबाट पक्राउ गर्न सफल भएका हौँ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘तोडफोडमा संलग्न भएको उनीहरुले स्वीकार गरेका छन्।’

मदिरा सेवन गरेर सडकमा निस्किएका उनीहरुले सुरुमा एउटा गाडीको सिसा फुटाएपछि जहाँ गाडी देखिन्छ, त्यहाँ पुगेर ढुंगा प्रहार गरेर तोडफोड गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलको दावी छ ।

दुईजना व्यक्तिले लमही क्षेत्रमा पार्किङ गरेर राखिएका बस, मिनी ट्रक, जीप, कार, भ्यान गरी नौ वटा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान जारी छ ।