March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राजस्व छलीमा भैरहवाका बानियाँलाई साढे पाँच करोड जरिवाना

भैरहवा– राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ बस्ने श्यामकुमार बानियाँसहित एक भारतीय नागरिकलाई साढे पाँच करोड रुपैयाँ जरिवाना माग गरेको छ । राजस्व चुहावट गरेको अभियोगमा बानियाँ र भारतीय नागरिक मनमोहन जयसवाललाई विभागले ५ करोड ५० लाख ८४ हजार ४२ रुपैयाँ विगो जफत एवं असुली गरी जरिवाना र कैद सजायँ माग गरेको हो ।

Advertisement

बानियाँ र जयसवाललाई उक्त रकम बराबरको विगो वा जरिवाना र कैद सजायँको माग दावीसहित विभागले उच्च अदालत तुलसीपुर, दाङमा मुद्दासमेत दायर गरेको छ । उनीहरुविरुद्ध यही बैशाख २१ गते अदालतमा मुद्दा दायर गरिएको विभागले जेठ २४ गते विज्ञप्ती जारी गरी जानकारी गराएको हो । बानियाँ भैरहवा निवासी भनिए पनि जयसवाल भारतीय नागरिक मात्र भनिएको छ । उनको वास्तविक ठेगाना खुलाइएको छैन ।

Advertisement

विभागका सूचना अधिकृत भविश्वर पाण्डेले प्राप्त सबै सवुद प्रमाणबाट बानियाँ र भारतीय नागरिक जयसवालले नेपालको सिमानामा रही विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुहरु भन्सार विन्दुमा भन्सार जाँचपास नगराई राजस्व चुहावट गर्ने गरेको बताए । ‘अनुसन्धानमा बानियाँले भारतीय नागरिक जयसवालसँग मिलेर ठूलो मात्रामा राजस्व छलेको पाइयो’, पाण्डेले भने ।

राजस्व छल्ने मनसायले विभिन्न व्यक्ति तथा फर्महरुलाई मालवस्तु चोरीपैठारी गर्ने र अबैध बाटोबाट पैठारी गरिएका मालवस्तुको मूल्य उनीहरुले प्राप्त गर्ने र उक्त रकम विदेशमा हुण्डीमार्फत् पठाउने वा विदेशबाट नेपालमा रकम पठाउने तथा विदेशमा रहेको व्यक्तिलाई नै भुक्तानी गर्ने गरेको राजस्वको ठहर छ । यस्तै, उनीहरुले विदेशमा नै नेपालमा चोरीपैठारी भएका मालवस्तु पठाउने, विदेशमा रहेको व्यक्तिलाई नै भुक्तानी गर्ने र विदेशमा रोजगारी गर्ने वा कुनै पेशा व्यवसाय गरेको नेपालीले नेपालमा पैसा पठाउनु पर्ने व्यक्तिलाई उनीहरुकै बैंक खातामा वा नगदै रकम भुक्तानी गर्ने गरेको पुष्टि हुन आएको पाण्डेले जानकारी दिए ।

‘राजस्व चुहावट गर्ने मनसायले अवैध बाटो प्रयोग गरी भन्सार चोरी निकासी÷पैठारी गरी लाभ लिएको पाइएको छ’, उनले भने । यसरी बानियाँ र जयसवालले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड (ख), (ग) र (झ) बमोजिम राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएको राजस्वको ठहर छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) बमोजिम उल्लेखित कसूर अपराधमा बानियाँ र जयसवाललाई सोही ऐनकोे दफा २३ बमोजिम विगो रकम असुलउपर गरी जरिवाना र कैद सजायँ माग दावी लिई विभागले अदालतमा मुद्दा दायर गरेको हो ।

पछिल्लो समय रुपन्देहीलगायत भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली व्यापारीले भारतीय नागरिकसँग मिलेमतो गरी यसै गरी करोडौं रुपैयाँ राजस्व छल्दै आएका छन् । खासगरी रुपन्देहीमा भैरहवा र बुटवल क्षेत्रका केही व्यवसायीले राजस्व छल्दै आएको बताइन्छ । यस्ता केही व्यवसायीमाथि राजस्व अनुसन्धान विभागले निगरानी बढाएको छ ।

भारतीय बजारबाट भन्सार छलेर अवैधरुपमा भैरहवाका अन्य व्यापारीले पनि मोबाइल, मोटरपार्ट्स, कपडा, आलुप्याज ल्याउने गरेका छन् । ती व्यवसायीमाथि पनि विभागले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । भैरहवाको बैंक रोडका केही व्यवसायीले मोबाइल र गल्लामण्डीका केही व्यवसायीले आलुप्याजमा भन्सार राजस्व छल्दै आएको स्रोत बताउँछ । यी व्यवसायीले हुण्डीमार्फत् पनि कारोबार गर्ने गरेको स्रोतको दावी छ ।

रुपन्देहीमा केही वर्ष यता व्यापारीहरुले राजस्व छल्ने उद्देश्यले गाउँका सोझासाझा, गरिब तथा विपन्न वर्गका नागरिकका नाममा फर्म दर्ता गर्ने र वर्षभरी कारोबार गरी राजस्व तिर्नेबेला फर्म नै छाडेर अर्कै फर्कबाट कारोबार गर्ने गरेका छन् । यस्तो अवस्थामा राजस्वले अनुसन्धान गर्दै जाँदा मासिक पाँच हजार रुपैयाँ पनि आम्दानी गर्न नसक्नेको नाममा फर्म दर्ता भेटिने गरेको छ । सीमित रकमको लोभमा चिनजानै नभएको व्यक्तिलाई फर्म संचालन गर्न दिँदा राज्यले करोडौं रुपैयाँ राजस्व गुमाएको छ ।