किसानलाई बीउ र मल अभाव


भैरहवा– रुपन्देहीलगायत लुम्बिनी प्रदेशका जिल्लाहरुमा किसानलाई मल र बीउ अभाव भएको छ । एक महिना लामो निषेधाज्ञाले मल र बीउ खरिद गर्नबाट बञ्चित भएका छन् । स्थानीय तहले किसानका लागि मल र बीउ व्यवस्थापन नगर्दा झन मर्कामा परेका छन् । गत वर्ष जस्तो भारतीय बजारमा गएर मल र बीउ खरिद गर्न समस्या छ ।
भारतमा पनि कोरोना महामारी उच्च भएकाले सिमापारीका बजार जाने अवस्था छैन । मुलुकमा नपाएपछि धेरै किसानले जोखिम मोलेर भारतीय बजार जाने गरेको बताए । गत वर्ष पनि खेतीपातीको सिजनमा किसानलाई यस्तै समस्या भएको थियो । कोरोनाको दोस्रो लहरमा पनि समस्या दोहोरिएको छ ।
यसका साथै किसानलाई ट्याक्टर र खेतला नपाएर पनि समस्या भइरहेको छ । आफै खेतमा गएर काम गर्न समस्या छ । पहिले पूर्वी तराई र भारतबाट खेताला आउने गरेका थिए । यसपाली लकडाउनले गाडी नचलेपछि मजदुरी गर्नेहरु आउन पाएका छैनन् । धेरै क्षेत्रमा धान खेती गर्दै आएका खेताला अभावमा मर्कामा परेका छन् ।
रोहिणी–२, बलराईंका जयप्रकाश यादवलाई बीउ र मल नपाउँदा समस्या छ । गतवर्ष र यसपाली धान रोप्ने बेलामै बन्दाबन्दी परेको उनले बताए । गत वर्ष जसोतसो ६ विघाहामा खेती गरे पनि घाटा सहनु परेको उनले बताए । ‘समयमै बीउ र मल पाइएन, धान फलेन’, उनले भने, ‘घरमा रहेको अलिकति बीउ त छरें, त्यसले पुगेन ।’
यहाँ अभाव भएका बेला भारतबाट खरिद गरेर ल्याउने गर्थे । यसपाली सिमापारीका बस्तीमा कोरोना महामारी छ । त्यसैले गाउँमै किनेर बीउ राख्ने सोच बनाएको उनले बताए । ‘जोखिम भए पनि हाइब्रीड धानको बीउ किन्न भारत नै जानुपर्छ’, उनले भने, ‘मसित सांवा र गोल्डेन धानको बीउ बचेको छ ।’
भारतीय बजारमा उन्नत जातको बीउ सजिलै उपलब्ध हुन्छ । यस्तो महामारीमा पनि भारतीय मलकै भर पर्नुपर्ने चिन्ता लागेको उनले बताए । ‘यहाँ सहकारीले कहिले ल्याउँछन्’, उनले भने, ‘ल्याए पनि सबैलाई पुग्दैन ।’ बीउ २२ दिनमा तयार हुने तर खेताला नपाएर अर्को समस्यामा परेको उनले बताए ।
किसानलाई हरेक बाली उत्पादनमा चुनौती बढ्दै गएको कोटहीमाई–१, का रामलखन गुप्ताले बताए । उनी २० विघामा धान रोप्छन् । रुपन्देहीको पनि जिम्मा पाएको पश्चिम नवलपरासीस्थिते कृषि ज्ञान केन्द्रका अनुसार रुपन्देहीको कुल ८५ हजार १ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ ।
कार्यालय प्रमुख देवेशकुमार मिश्रका अनुसार रुपन्देहीमा ९९ सय मेट्रिक टन धानको बीउ आवश्यक रहेको छ । केन्द्रकी कृषि प्रचार अधिकृत मनिषा पौडेलले यस वर्ष पनि स्थानीय तह, तथा कृषि सामग्री केन्द्र मार्फत बीउविजन तथा मलखाद वितरणको काम भइरहेको बताइन् ।
राष्ट्रिय कृषक महासंघ अध्यक्ष देव धवलले यस वर्ष पनि बीउ र मलको हाहाकार हुने बताए । ५ विगाहमा धान खेती गर्दै आएका उनले १० प्रतिशत पनि बीउ तथा मलखाद उपलब्ध नभएको गुनासो गरे । ‘ब्याड राख्ने काम सुरु भएको छ’, उनले भने, ‘केहीले भारत तथा नेपाली बजारबाट बीउ खरिद गरेर राखिसकेका छन् । आधा भन्दा बढीले पुरानै धानलाई बीउको रुपमा प्रयोग गर्ने तयारी गरेका छन् ।’
घरमा रहेको पुरानो धानको बीउ राख्दा उत्पादनमा ह्रास आउने उनले बताए । स्थानीय सरकार र सहकारी संस्थाबाट वितरण गरिने मल अहिलेसम्म नआएको उनले बताए । धानको ब्याड राख्न एक साता अगाडि नै मलखाद संग्रह गरेर राख्नुपर्ने भए पनि सहकारीले नल्याएको धवलले बताए ।
कपिलवस्तु–३, सड्वाका मनगठ्ठु यादब धानको वीउ नपाएर तनाबमा छन । ‘गत बैशाख १६ गतेबाट निधेषज्ञा छ’, उनले भने, ‘बजारमा बीउ आएकै छैन् ।’ आफनो र अधिया गरेर ४ विगहामा साँवा मन्सुली र राम धान लगाउने योजना थियो । तर बीउको टुगो छैन् । भारततिर पनि आवतजावत बन्द छ । लुकेर भारतबाट बीउ ल्याउनुको विकल्प नरहेको उनले बताए ।
मायादेवी–७, हरनामपुरका रामअवध यादबले वीउ राख्न खेत जोतिसकेका छन् । ‘१८ किलो सम्पूर्ण धानको वीउ चाहिन्छ,’ उनले भने, ‘कही पाइएको छैन्, ढिलो हुन थाल्यो । समयमै पाइएन् भने उत्पादन कम हुन्छ । वर्ष भरिको योजना बिग्रन्छ ।’
लालावाला भोकै बस्नु पर्ने अवस्था आउने उनले बताए । यहाँका कृषक वीउ राख्ने चटारोमा छन् । तर, निषेधाज्ञाले अत्यावश्यक बाहेकका पसल बन्द छन् । यस पटकको कडा संक्रमण भएकाले घर बाहिर निस्किने अवस्था छैन । त्यसैले किसान मानसिक तनावमा छन् । यहाँका बासिन्दालाई वर्षदिनको अन्न जोहो गर्न खेतपाती नगरी हुन्न् ।
प्रतिकृया दिनुहोस्